प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। केही निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका उम्मेदवारले निकट प्रतिस्पर्धीको दाँजोमा अत्यन्तै ठूलो मतान्तर कायम गरेका छन्।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले केही क्षेत्रमा आफ्ना प्रतिस्पर्धीलाई धेरै गुणा मतले पछि पार्दै प्रभावशाली जित हासिल गरेका छन्।
सबभन्दा ठूलो मतान्तर काठमाडौं–७ मा देखिएको छ।
यहाँ रास्वपाका गणेश पराजुलीले २७ हजार ८०५ मत प्राप्त गर्दै नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंलाई २४ हजार ८२३ मतले पछि पारे। गुरागाईंले २ हजार ९८२ मत मात्र पाएका छन्।
यो परिणामसँगै पराजुली आफ्ना निकट प्रतिस्पर्धीको तुलनामा करिब ९ गुणा बढी मत ल्याएर विजयी भएका छन्। जारी मतगणनामा यो अहिलेसम्मकै सबभन्दा ठूलो अन्तर हो।
काठमाडौं–८ मा पनि रास्वपाका विराजभक्त श्रेष्ठले २४ हजार ५९२ मत ल्याएर नेकपाका सुमन सायमिलाई २१ हजार ३७५ मतले पछि पारे। सायमिले ३ हजार २१७ मत प्राप्त गरेका छन्। यहाँ श्रेष्ठले प्रतिस्पर्धीभन्दा करिब ८ गुणा बढी मत ल्याए।
काठमाडौं–१० मा पनि रास्वपाले बलियो जित निकाल्यो। यहाँ प्रदीप विष्टले ३७ हजार ४६९ मत ल्याउँदा नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १०० मत पाए। विष्टले कार्कीलाई २९,३६९ मतले पछि पार्दै करिब ५ गुणा बढी मतसहित विजयी भए।
काठमाडौं–६ मा रास्वपाका शिशिर खनालले २७ हजार ७१९ मत प्राप्त गर्दै नेपाली कांग्रेसका कृष्ण सबुज बानियाँलाई २१ हजार ७२ मतले पछि पारे। बानियाँले ६ हजार ६४७ मत पाएका छन्। खनालले प्रतिस्पर्धीको भन्दा करिब ४ गुणा बढी मत ल्याए।
कास्की–२ मा पनि रास्वपाले ठूलो अन्तरसहित जित हासिल गरेको छ। यहाँ उत्तम पौडेलले ३१ हजार ९११ मत ल्याउँदा नेकपा एमालेका रश्मी आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका छन्। पौडेलले आचार्यलाई २४ हजार ४१८ मतले पछि पार्दै करिब ४ गुणा बढी मत ल्याए।
त्यस्तै, मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशीले ४० हजार ८३३ मत ल्याउँदै नेपाली कांग्रेसका गुरू घिमिरेलाई २८ हजार १५ मतले पछि पारे।
कास्की–३ मा बिना गुरूङले ३७ हजार ७५० मत ल्याएर मनोज गुरूङलाई २४ हजार ९७० मतले पछि पारिन्।
अन्य केही क्षेत्रमा भने प्रतिस्पर्धा तुलनात्मक रूपमा कडा देखिएको छ।
कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाहीले नेकपा एमालेका नगीन्द्र शाहीलाई ९८६ मतले मात्र पराजित गरे। दैलेख–१ मा नेपाली कांग्रेसकी बास्ना थापाले ५७६ मतको झिनो अन्तरले जित निकालिन्।
समग्र परिणाम हेर्दा काठमाडौंका अधिकांश क्षेत्रमा रास्वपाले अत्यधिक मतान्तरसहित जित निकाल्दै आफ्नो प्रभाव देखाएको छ।