नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन परिणाम स्वीकार्दै ‘परिवर्तन’ को लहरका सामु पार्टीको प्रयास सफल हुन नसकेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक भएको बताएका छन्।
‘आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टी को पक्षमा आएको छ। जनताले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएका छन्। जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह सहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना,’ उनले भनेका छन्, ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो। तर परिवर्तनको लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन।’
उनले आफू उम्मेदवार भएको प्रतिनिधि सभा–२ निर्वाचन क्षेत्रबाट निर्वाचित हुने रास्वपाका विपिन आचार्यलाई बधाई पनि दिएका छन्।
‘अन्त्यमा, जिन्दगी हो—हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ भन्ने गितको भावझैँ लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हो। निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैमा हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।