नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले यस्तो परिणामको अपेक्षा नभएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेख्दै उनले लोकतन्त्रमा जनताको फैसला सर्वोपरि हुने र जनादेशप्रति सम्मान हुने बताएका हुन्।
‘गुल्मी–१ को मतगणना उत्तरार्धतिर पुग्दैछ। विजयोन्मुखसागर ढकाल र रास्वपालाई अग्रीम बधाई! शान्तिपूर्ण र स्वस्थ रूपमा निर्वाचन सम्पन्न गराउनु हुने मुख्य निर्वाचन अधिकृत, प्रजिअ लगायत सबै सुरक्षा निकाय र कर्मचारी मित्रहरूलाई धन्यवाद। निर्वाचनमा अहोरात्र खट्नुहुने सबै कमरेडहरूप्रति अगाध माया र सम्मान। यस्तो परिणामको अपेक्षा थिएन। तर लोकतन्त्रमा जनताको फैसला सर्वोपरि हुन्छ। त्यसैले जनादेशप्रति सम्मान छ,’ उनले भनेका छन्।
जिल्लाको विकास र जिल्लावासीहरूको सुखदुखमा मलाई हमेशा साथमै पाउने बताउँदै उनले यी अप्ठ्यारा दिनहरू पनि बितेर जाने बताएका छन्।