राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लुम्बिनी प्रदेश नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख ओम पौडेलले पदबाट राजीनामा दिएका छन्।
रास्वपा रुपन्देही-३ का निवर्तमान सभापतिसमेत रहेका पौडेलले प्रदेशका महामन्त्रीलाई सम्बोधन गरी सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएका हुन्।
रास्वपाले देशव्यापी चुनाव जितेर कार्यकर्ताहरूमा उत्साह थपिएका बेला पौडेलको राजीनामाले रूपन्देहीको राजनीतिमा तरंग ल्याएको छ।
पौडेलले आफ्नो उद्देश्य 'पुराना राजनीतिक दलका गलत पात्रहरूले स्थापित गरेको सङ्गठित ठगी धन्दा, राज्यका संयन्त्र कब्जा, सेटिङमै हुने तस्करी, संस्थागत भ्रष्टाचार र बेरोजगारी सँगसँगै वैदेशिक रोजगारीमा जानेहरूलाई पनि एयरपोर्टमै बेच्नेसम्मका आपराधिक क्रियाकलापबाट जनतालाई मुक्त गर्नु रहेको' बताएका छन्।
उनले सोही क्रियाकलापका विरुद्ध रवि लामिछानेले देखाएको आँट र साहसमा ऐक्यबद्धता जनाउँदै पार्टीमा जोडिएको र पछिल्लो मत परिणामसँगै आफ्नो कर्तव्य पनि पूरा भएको उल्लेख गरेका छन्।
पौडेलले राजनीति साँच्चिकै फोहोरी रहेको र हरेक राजनीतिक दलमा अवसरवाद हाबी रहेको उल्लेख गर्दै रास्वपामै पनि दोहोरो चरित्र देखाउने र मात्र पदका लागि जे पनि गर्न सक्ने व्यक्तिहरू देख्दा दुःख लागेको उल्लेख गरेका छन्।
शुक्रबार राजीनामा दिएका पौडेलले आफू पार्टीमा नरहे पनि एक/एक सदस्य जोडेर बनाएको पार्टीप्रति भने आफ्नो माया सधै रहिरहने उल्लेख गरेका छन्।