नेकपा एमालेका उपाध्यक्ष एवं रूपन्देही क्षेत्र नं २ मा उम्मेदवार रहेका विष्णु पौडेलले निर्वाचन परिणामलाई सहजतापूर्वक स्वीकार गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको उच्च सम्मान गर्ने बताएका छन्।
निर्वाचनको अन्तिम मत परिणाम पछि शनिबार फेसबुक मार्फत वक्तव्य जारी गर्दै पौडेलले निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेललाई बधाई सहित सफल कार्यकालको शुभकामना दिएका छन्।
‘निर्वाचनमा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु, आशा छ, तपाईंले यस क्षेत्रका नागरिकका अपेक्षा र भावनालाई कदर गर्दै उत्कृष्ट कार्य गर्नुहुनेछ,’ पौडेलले लेखेका छन्।
पौडेलले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत रहेको उल्लेख गर्दै यस क्षेत्रका मतदाताको फैसलालाई सहर्ष स्वीकार गर्दै निर्वाचनमा पराजित भए पनि यो क्षेत्रको समृद्धिका लागि सदैव लागिरहने बताएका छन्।
‘म पदमा रहूँ वा नरहूँ, रूपन्देहीको विकास र यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुख/दुःखमा मेरो साथ र सक्रियता हिजो जस्तै निरन्तर रहनेछ। यस क्षेत्रको समृद्धिका लागि मैले देखेका सपनाहरू र अघि बढाएका योजनाहरूलाई सार्थक तुल्याउन म आफ्नो ठाउँबाट सदैव लागिरहने छु,’ उनले लेखेका छन्।
पौडेलले रूपन्देही सँगको आफ्नो सम्बन्ध पद र शक्तिभन्दा माथि रहेको उल्लेख गर्दै रूपन्देही र विशेष गरी क्षेत्र नं. २ आफ्नो जीवनको अभिन्न हिस्सा र कर्मभूमि बनेको बताएका छन्।
पौडेलले राजनीतिलाई लामो यात्रा रहेको उल्लेख गर्दै निर्वाचनको परिणामबाट विचलित नभई अझ सशक्त रूपमा जनताको सेवामा समर्पित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
साथै उनले चुनावी अभियानमा अहोरात्र खट्ने एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाताहरूलाई आभार व्यक्त गरेका छन्।