नवलपुर क्षेत्र नम्बर २ मा जेनजी युवा मनिष खनालले विजयी हासिल गरेका छन्।
२६ वर्षका अधिवक्ता समेत रहेका युवा खनालले ४१ हजार ३४७ मत प्राप्त गरेका छन्। खनालले फराकिलो मतान्तर ल्याएर विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका तिलबहादुर महतले १५ हजार ७५५ मत पाएका छन्।
त्यस्तै नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन्।
नवलपुर मध्यविन्दु नगरपालिका-६ मनिष खनाल जेनजी आन्दोलन पछि चर्चामा आएका युवा हुन्।
गत सेप्टेम्बर ८ मा भएको ‘जेन–जी’ आन्दोलनमा मनिष अग्रपंक्तिमा थिए। त्यसपछि चर्चामा आएका उनी अन्तरिम सरकारसँगको विभिन्न चरणमा भएका छलफलमा समेत समावेश भए।
सडकबाट प्रश्न गरिरहेका उनी अब प्रतिनिधि सभा सदस्यको रूपमा जनताका आवाज उठाउनेछन्।
सानो उमेरदेखि नै राजनीतिमा रूचि राखेका उनले २० वर्षको उमेरमा विवेकशील नेपाली दलमा आबद्ध भएका थिए। २० वर्षको हुँदा उनी त्यस दलको केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
त्यसो त उनले राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदको सचिवालयमा रहेर समेत काम गरेको थिए। यही अनुभवले समेत संसदमा काम गर्न सहज हुने उनको भनाइ छ।
बीएएलएलबी पूरा गरी नेपाल बार काउन्सिलबाट लाइसेन्स प्राप्त गरेपछि विगत दुई वर्षदेखि उनी अधिवक्ताका रूपमा वकालत पेसामा सक्रिय छन्। उनी सामाजिक मुद्दामा सडकमा उत्रिने अभियानी पनि हुन्।
यही पेसाले उनलाई सरकारसँग भएको सम्झौताको मस्यौदामा काम गर्न सहजीकरण गरेको हो।
मंसिर २४ गते सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौता भएको थियो। त्यस लेखन प्रक्रियामा समेत सहभागी भएका थिए।
‘म संसदमा जेनजी जनआन्दोलनको आवाज उठाउनका लागि आएको हुँ। सहिद र घाइतेका माग स्थापित गर्नका लागि पूर्ण रूपमा प्रतिबद्ध भएर काम गर्नेछु,’ उनले भने, ‘म जेनजी विद्रोहको बलमा यहाँसम्म आइपुगेकोले निरन्तर यसका लागि आवाज उठाउने छु।’
त्यस्तै भ्रष्टाचार र सुशासनको पक्षमा निरन्तर आवाज उठाउने पनि उनको भनाइ छ।
सँगसँगै नवलपुर-२ का लागि अर्थपूर्ण योगदान गर्ने पनि उनले बताएका छन्।
उनले जेनजी आन्दोलनले पुस्तान्तरणको आवाज समेत उठाएकाले आफ्नो प्रतिनिधित्व हुनुपर्ने बताउँदै आएका थिए।
'कानुन नजान्नेले कानुन बनाउने ठाउँमा पुग्दा देशले दुःख पायो,’ उनी भन्छन्, ‘अबको राजनीति कानुन बुझेका, समाज बुझेका र जोस भएका युवाहरूले हाँक्नुपर्छ।’
उनी जेनजी आन्दोलनपछि रक्षा बम संयोजक रहेको नेपाल जेनजी फ्रन्टमा आबद्ध भएका थिए।