नेपाली कांग्रेस रूपन्देहीका उपसभापति थानेश्वर घिमिरेले पदबाट राजीनामा दिएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देहीका कुनै पनि क्षेत्रमा पार्टीको उम्मेदवारलाई जिताउन नसकेको भन्दै उपसभापति घिमिरेले पदबाट राजीनामा दिएका हुन्।
रूपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले एउटा क्षेत्रमा पनि जित्न सकेन।
उपसभापति घिमिरेले निर्वाचनको यस्तो परिणामप्रति नैतिक जिम्मेवारी लिँदै उपसभापति पदबाट राजीनामा दिएको बताएका हुन्।
´रूपन्देहीका कुनै पनि क्षेत्रमा पार्टीका उम्मेदवार विजयी हुन नसकेको र निर्वाचनको उक्त परिणामप्रति नैतिक जिम्मेवारी लिँदै म नेपाली कांग्रेस रूपन्देही जिल्ला कार्यसमितिको उपसभापति पदबाट आजकै मितिदेखि लागू हुने गरी राजीनामा पेश गरेको छु,` घिमिरेले लेखेका छन्।
पार्टीले आफूलाई दिएको जिम्मेवारी निर्वाह गर्ने अवसरका धन्यवाद दिँदै आगामी दिनमा पनि आफू पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहँदै पार्टीको सक्रिय सदस्यको रूपमा संगठनलाई सुदृढ बनाउन निरन्तर लागिपर्ने उनले बताएका छन्।
घिमिरे २०७९ सालको निर्वाचनमा रूपन्देहीको सियारी गाउँपालिकामा कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।