राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका अधिकांश पूर्वपत्रकार निर्वाचित भएका छन्। केही विजयको सङ्घारमा छन्।
निर्वाचित हुने अधिकांश पार्टी सभापति रवि लामिछानेसँगै ग्यालेक्सी फोर के टेलिभिजनमा काम गरेका सहकर्मी हुन्।
सभापति लामिछाने ग्यालेक्सी फोर के टेलिभिजनको कार्यक्रम सिधा कुराका प्रस्तोता थिए। त्यसअघि उनी न्युज ट्वान्टी फोरमा सोही कार्यक्रम चलाउँथे।
टेलिभिजन प्रस्तोता छाडेर उनी राजनीतिमा होमिएका थिए।
सिधा कुराकै निर्माताका रूपमा रहेका दीपक बोहरा पनि रविसँगै राजनीतिमा क्रियाशील भएका थिए। बोहरा कञ्चपुर–२ बाट विजयउन्मुख छन्। उनले नेपाली कांग्रेसका नारायणप्रकाश साउदलाई धेरै मतान्तरले पछि पारेका छन्।
ग्यालेक्सी टेलिभिजनकै पूर्व क्रिएटिभ डाइरेक्टर रहेका विपिनकुमार आचार्य दाङ–२ बाट निर्वाचित भएका छन्। उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेका हुन्। उनी पनि रास्वपाका संस्थापक हुन्। उनी हाल रास्वपाको सहमहामन्त्रीको भूमिकामा पनि छन्।
ग्यालेक्सी टेलिभिजनमै काम गरेका ज्ञानेन्द्र महता कञ्चनपुर–३ बाट विजयउन्मुख छन्। उनी ग्यालेक्सी टेलिभिजनको कञ्चनपुर संवाददाता थिए।
ग्यालेक्सी टेलिभिजनकै गण्डकी ब्यूरो प्रमुख उत्तम पौडेल कास्की–२ बाट निर्वाचित भएका छन्। उनले एमालेका रश्मी आचार्यलाई पराजित गरे।
ग्यालेक्सी टेलिभिजनकै पूर्वपत्रकार प्रकाश पाठक झापा–३ बाट विजयोन्मुख छन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई पछि पारिरहेका छन्।
ग्यालेक्सी टेलिभिजनकै पूर्वपत्रकार बिनिता कठायत जुम्लाबाट उम्मेदवार बनेकी थिइन्। उनी भने निकै पछि छन्। जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता लिइरहेका छन्।
यसबाहेक ग्यालेक्सीमै कार्यरत पूर्वपत्रकार प्रमोद न्यौपाने समानुपातिकको बन्द सूचीमा छन्,। त्यस्तै बन्द सूचीमा रहेका प्रतिभा रावल, क्रान्तिशिखा धिताल, रमेश प्रसाईं पनि पूर्वग्यालेक्सीकर्मी नै हुन्।
त्यसो त रास्वपाबाट यो निर्वाचनमा अरू पनि उम्मेदवार थिए। यसअघि सांसद रहेका मनिष झा पत्रकारिता पृष्ठभूमिकै हुन्। उनी धनुषा–३ बाट निर्वाचित भइसकेका छन्। न्युज ट्वान्टीफोरका पूर्व पत्रकार राजीव खत्री भक्तपुर–२ बाट निर्वाचित भएका छन्।
यसअघि सांसद रहेकी निशा डाँगी पनि पत्रकारिता पृष्ठभूमिकै हुन्। उनी पनि अहिले झापा–१ बाट प्रत्यक्षतर्फ उम्मेदवार छिन्। उनी जितउन्मुख छिन्।
मोरङ–४ बाट निर्वाचित सन्तोष राजवंशी पनि पत्रकारिता पृष्ठभूमिकै हुन्। उनले नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेलाई पराजित गरेका थिए।