चितवन-३ मा पराजित भएकी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले मन जिते पनि मत जित्न नसकेको बताएकी छन्।
अन्तिम मतपरिणाम घोषणा भएपछि फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भरतपुरको विकासमा ९ वर्ष समर्पित गरेर मन जिते पनि मत जित्न नसकेको बताएकी हुन्।
उक्त निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छिन्। उनले ५९ हजार २ सय ७७ मत प्राप्त गरेकी छिन्। नेकपाकी रेनु दाहालले २० हजार ६ सय १५ मत प्राप्त गरेकी छिन्।
भरतपुर महानगरको मेयरबाट राजीनामा दिएर रेनु दाहाल चुनावमा होमिएकी थिइन्।
‘भरतपुरमा मैले मेरो जीवनको उर्जाशील ९ वर्ष यस ठाउँको विकास, समृद्धि र सुशासनका लागि समर्पित गरें। मलाई लाग्यो विकासका लागि जनताका पक्षमा राम्रा नीति नियम नहुनाले कामहरू असहज भइरहेका छन्। त्यसका लागि म १५ महिना नगर प्रमुखको कार्यकाल बाँकी छँदै बाहिरिएर प्रतिनिधिसभा निर्वाचन चितवन ३ बाट उमेदवारी दिई निर्वाचनमा होमिएँ’, रेनुले फेसबुकमा लेखेकी छिन्, ‘मैले कामद्वारा तपाईंहरुको मन त जिते तर मत जित्न सकिनँ। मत जित्ने सोबिता गौतमलाई धेरै धेरै बधाई।’
उनले रास्वपाले देशभर निर्वाचनमा प्राप्त गरेको मतलाई सुनामीको लहडका रुपमा टिप्पणी गरेकी छिन्।
‘यो सुनामीको लहडमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरु प्रति म ऋणी छु’, दाहालले लेखेकी छिन्, ‘तपाईहरूको यो गुन मैले कहिल्यै बिर्सने छैन।’