मोरङ–६ का मतदाताले प्रतिनिधि सभामा नयाँ विकल्प रोजेका छन्।
लामो समयदेखि नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने गरेको यो क्षेत्रमा, राष्ट्रिय स्वतन्त्र पार्टीकी रूविना आचार्यले ‘आउट्साइडर’ को आरोप बीच भारी मतान्तरले जीत हासिल गरेकी छन्।
रूविनाको जन्म र हुर्काइ विराटनगरमै भए पनि काठमाडौंबाट उच्च शिक्षा र राजनीतिक जीवन सुरू गरेकी हुन्। उनलाई पुराना दलका कार्यकर्ताहरूले ‘टुरिष्ट उम्मेदवार’ भनेर प्रचार गरेका थिए। तर मोरङ–६ का मतदाताले उनैलाई आफ्नो प्रतिनिधि बनाइदिएका छन्।
कांग्रेसका हेभिवेट नेता शेखर कोइरालालाई चार गुणा बढी मतले पराजित गर्दै संसदको यात्रा सुनिश्चित गरिन्।
निर्वाचन कार्यालयका अनुसार, रूविनाले ५५,५१३ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शेखर कोइरालाले १२,८५० मत पाएका छन्। रूविनाले शेखरलाई ४२,६६३ मतान्तरले पराजित गरेकी छन्।
मोरङ-६ कि रूविना आचार्य विराटनगर–४, आयल निगममा २०५२ सालमा जन्मिएकी हुन्। प्रारम्भिक शिक्षा इडेन नेशनल र मेरील्यान्ड कलेजबाट हासिल गरेकी उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कलेजबाट बीबीए र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबाट एमबीए पूरा गरेकी छिन्।
‘हामी निर्वाचित भएर सपथ लिएपछि कसरी अघि बढ्ने भन्ने सल्लाह गर्नेछौं,’ २०७४ सालको संघीय निर्वाचनबाट राजनीतिक यात्रा थालेकी उनले भनिन्, ‘दीर्घकालीन योजना बनाएर जनसेवामा लाग्ने प्रण गर्छौं।’
उनका अनुसार तत्कालीन विवेकशील साझा पार्टीमार्फत काठमाडौं क्षेत्र नं.२ मा चुनावी रणनीति निर्माणमा उनले २०७४ मा काम गरेकी थिइन्। त्यसबेला स्वयंसेवक परिचालनमा पनि उनले भूमिका निर्वाह गरेकी थिइन्।
विवेकशील साझा युवा संगठनको बागमती प्रदेश समितिमा नेतृत्व गरेकी आचार्य पछि सोही पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भइन्। राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझाबीचको एकीकरण पछि रास्वपाको उम्मेदवारका रूपमा मोरङ-६ आएकी थिइन्।
चिकित्सा शिक्षा सुधार आन्दोलन गरेका डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानमा जोडिएकी उनी कोरोना महामारीका बेला सञ्चालन गरिएको ‘तातो भात अभियान’, र महिला हिंसा विरूद्धका अभियानमा पनि सरिक थिइन्।
‘मैले उठाउँदै आएका शिक्षा स्वास्थ्य रोजगारी, अधिकार र समानताका आवाज ससदमा उठाउनेछु,’ उनले भनिन्, ‘त्यसबाहेक क्षेत्रको विकासका लागि योजनाहरू बनाउने काममा पनि लाग्नेछु।’
२०४८ यता मोरङ–६ मा आठ वटा निर्वाचन भएका छन्। यीमध्ये सात चुनावमा मतदाताले नयाँ विकल्प रोजेका छन्। यस अर्थमा मोरङ–६ का मतदाता चलायमान स्वभावका रहेको देखिन्छ। यसको फाइदा यसपटक देशभर रास्वपाले लिदा रूविनाले पनि सिहदरबार यात्रा तय गरिन्।