दाङका तीन वटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको छ।
फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार दाङको १ बाट राश्वपाका देवराज पाठक, २ बाट विपिनकुमार आचार्य र ३ बाट कमल सुबेदी निर्वाचित भएका छन्।
दाङ १ बाट पाठक र ३ बाट निर्वाचित सुबेदी यसअघिको निर्वाचनमा यिनै क्षेत्रबाट पराजित भएका थिए। अहिले भने उनीहरू प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरसहित रास्वपा निर्वाचित भएका छन्।
राश्वपाले २०७९ को चुनावमा दाङ २ बाट पराजय भोगेका विशाल अधिकारीको ठाउँमा यसपालि भने सहमहामन्त्री विपिनकुमार आचार्यलाई उम्मेदवार बनाएको थियो। आचार्यले पनि सानदार जित निकाले। योसँगै दाङमा तीनै जना उम्मेदवारले सानदार विजय हासिल गरेका छन्।
दाङ–१ मा रास्वपाका देवराज पाठकले ४२ हजार ६ सय २ मत प्राप्त गरेका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीलाई २७ हजार ३ सय २२ मतान्तरले पराजित गरेका हुन्। चौधरीले १५ हजार २ सय ८० मत प्राप्त गरेका छन्। पाठक प्रतिस्पर्धीमध्ये सबैभन्दा पाका उमेरका हुन्। शिक्षण पेशाबाट अवकाशपछि उनी रास्वपाको उम्मेदवार बनेका थिए। त्यसपूर्व उनी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको दाङ जिल्ला उपाध्यक्ष थिए।
नयाँ दलका उम्मेदवारले दाङ दोस्रो प्रयासमै क्लिनस्विप गरेको विषय जिल्लास्थित पुराना दलका नेता–कार्यकर्ताका लागि चर्चाको विषय बनेको छ।
दाङको क्षेत्र नम्बर २ मा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य ४३ हजार ५ सय ५९ मत प्राप्त गरी निर्वाचित भएका छन्। आचार्यका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले १५ हजार २ सय ८७ मत प्राप्त गरे।
राश्वपा सहमहामन्त्री विपिनले एमाले महासचिव शंकरलाई २८ हजार २ सय ७२ मतान्तरले पराजित गरेका हुन्।
३९ वर्षीय विपिन राश्वपाका संस्थापक मध्यका एक हुन्।
त्यस्तै दाङ क्षेत्र नं. ३ मा राश्वपाका कमल सुबेदी निर्वाचित भए। प्राप्त अन्तिम मत परिणाम अनुसार सुबेदीले ४४,२४८ मत प्राप्त गरे। नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले १६,४५३ मत प्राप्त गरे। निकटतम प्रतिस्पर्धी गिरीलाई सुबेदीले २७,७९५ मतान्तरले पराजित गरेका हुन्।
३८ वर्षका कमल विगतमा असल शासन क्लबमा आबद्ध थिए। उनले सोही क्लबबाट रेडियो हापुरे खोल्न मद्दत गरेका थिए। उनले आफ्नी स्वर्गीय आमाको नामबाट एम्बुलेन्स सञ्चालन गर्दै आएका छन्।
यसअघि नेपाली कांग्रेसले एक्लै २०५६ र २०७० मा दाङका सबै सिटहरू जितेको थियो। शान्ति प्रक्रिया पछि २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले दाङका सबै ५ वटै सिटहरू जितेको थियो। त्यसयता एक्लै भिडेर दाङ ‘क्लिनस्वीप’ गर्ने राश्वपा तेस्रो दल हो।
नेकपा कालमा २०७४ मा अधिकांश निर्वाचन क्षेत्र वाम गठबन्धनले जिते पनि क्लिनस्वीप गर्न सकेको थिएन। त्यतिखेर दाङको क्षेत्र नं. ३ (क) मा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित भएका थिए। चौधरीले माओवादीका जगप्रसाद शर्मा (अपार) लाई पराजित गरेका थिए।
२०७९ सालको संसदीय निर्वाचनमा पनि दाङमा कांग्रेस–माओवादीसहितको गठबन्धनका सबै उम्मेदवारहरू निर्वाचित भएका थिए।