दाङ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कमल सुवेदी निर्वाचित भएका छन्।
उनले ४४ हजार २४८ मत ल्याएर नेपाली कांग्रेसका दीपक गिरीलाई पछि पारे। कांग्रेस उम्मेदवार गिरीले १६ हजार ४५३ मत ल्याए।
अर्का प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार १९५ मत ल्याए।
सुवेदी २०७९ सालको निर्वाचनमा पनि उम्मेदवार थिए। तर त्यतिबेला उनै गिरीसँग पराजित भएका थिए। सुवेदीले १५ हजार ३२६ मत ल्याएइका थिए।
सुवेदी दाङकै दंगीशरण गाउँपालिका–४ मौलीमा जन्मिएका थिए। ३८ वर्षीय सुवेदीको प्रारम्भिक शिक्षा गाउँकै लक्ष्मीनारायण प्रावि र वीरेन्द्र मावि हेकुलीबाट भएको थियो।
त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेपछि उनी क्यानडा सरकारको पूर्ण छात्रवृत्तिमा सेन्ट फ्रान्सिस जेभियर विश्वविद्यालयमा अध्यनका लागि पुगे। त्यहाँबाट ‘डेभलपमेन्ट लिडरसिप’ मा डिप्लोमा गरे।
‘मैले विदेशका विकास र सुशासनलाई नजिकबाट नियालेको छु,’ उनले भने ‘म सार्वजनिक प्रशासन र नीति निर्माणको क्षेत्रमा एक अन्तर्राष्ट्रिय विज्ञ तथा विश्लेषक पनि हुँ।’
कमलले आफ्नी स्वर्गीय आमाको स्मृतिमा विष्णुदेवी फाउन्डेसन स्थापना गरी गरिब र असहायका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेका छन्। २०७२ को भूकम्पको समय र कोभिड–१९ को महामारीका बेला उनी राहतमा पनि उत्तिकै तल्लीन थिए।
पश्चिम दाङको बबई गाउँपालिका– ५ हापुरे बजारमा रहेको सामुदायिक रेडियो हापुरेको स्थापना उनकै अग्रसरतामा भएको थियो।
कमल अध्यक्ष रहेको असल शासन संरक्षण मञ्च, दंगीशरण– ४ मौलीको नाममा हापुरेमा रेडियो स्थापना भएको थियो।
एक दशकसम्म उनले युवा महासंघको नेतृत्व गरेका थिए।
रास्वपाको स्थापनाकालदेखि नै केन्द्रीय प्रशिक्षण विभाग सचिवका रूपमा पार्टीको विचार र सिद्धान्त निर्माणमा खटिएर काम गरेको अनुभव उनीसँग छ।