पञ्चायतकालदेखि नै महोत्तरीमा शरतसिंह भण्डारीको दबदबा थियो।
२०३८ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायतको निर्वाचन जितेका ७१ वर्षीय भण्डारी महोत्तरी-२ मा यसपालि पनि उमेदवार थिए।
जनता समाजवादी पार्टी (जसपा)बाट उमेदवार बनेका भण्डारीलाई दृष्टि रोग विशेषज्ञ डा. दिपककुमार साहले भारी मतान्तरले पराजित गरेका छन्।
३४ वर्षीय चिकित्सक साहले ३२ हजार ७२२ मत ल्याएर विजय हासिल गर्दा भण्डारीले १० हजार १९८ मत मात्र ल्याए।
२०३८ र २०४३ मा राष्ट्रिय पञ्चायतको निर्वाचन जितेका भण्डारी २०४८ मा भने पराजित भएका थिए।
त्यसपछि उनले २०५१, २०५६ र २०६४ मा पनि चुनाव जिते।
२०७० को निर्वाचनमा भने उनी पराजित भएका थिए।
त्यसपछिका २०७४ र २०७९ को दुवै निर्वाचनमा पुनः भण्डारी विजयी भए।
यसापलिको हार भण्डारीको तेस्रो हार हो।
२०४४ सालमा पञ्चायती व्यवस्था रहँदा भण्डारी सहायक मन्त्री थिए। जेनजी आन्दोलन हुँदा पनि उनी श्रम मन्त्री थिए। यसबीच उनी दर्जनभन्दा धेरै पटक मन्त्री भइसकेका छन्।
भण्डारीको दबदबा तोड्ने चिकित्सक साह निर्वाचन अघिमात्र सक्रिय राजनीतिमा आएका थिए।