अघिल्लो संसदमा दोस्रो ठूलो दल बनेको नेकपा एमाले यसपटक तेस्रो दल बन्न संघर्ष गरिरहेको छ।
एमाले २०६४ सालको पहिलो संविधान सभा निर्वाचन यता पहिलो पटक रक्षात्मक अवस्थामा पुगेको हो।
हालसम्म एमालेका अधिकांश शीर्ष नेता पराजित भइसकेका छन्। त्यति मात्र होइन, यसअघि पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो जस्ता महत्त्वपूर्ण जिम्मेवारीमा रहिसकेका नेताहरू पनि यसपटक पराजित बनेका छन्।
निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार अहिलेसम्म बाँके–२ बाट मोहम्मद इस्तियाक राई, बझाङबाट ऐन महर, दैलेख–२ बाट लक्ष्मीप्रसाद पोखरेल, इलाम–२ बाट सुहाङ नेम्वाङ, धनकुटाबाट राजेन्द्रकुमार राई, ताप्लेजुङबाट क्षितिज थेबे, दार्चुलाबाट गणेशसिंह ठगुन्ना विजयी भएका छन्।
एमालेले अहिलेसम्म कोशीबाट तीन, सुदूरपश्चिमबाट दुई, कर्णाली र लुम्बिनीबाट एक–एक जना जितेको छ।
एमालेले अहिलेसम्म तीन स्थानमा अग्रता लिइरहेको छ। इलाम–१ मा काजिमान कागते, संखुवासभा–१ मा अर्जुनकुमार कार्की, अछाम–२ मा यज्ञबहादुर बोगटीले अग्रता लिइरहेका छन्।
कागतेले ८९०, कार्कीले ९५७, बोगटीले ५८७ मतको अग्रता लिइरहेका छन्। कागतेको निकट प्रतिस्पर्धा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू, कार्कीको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङ्मा शेर्पासँग भइरहेको छ। बोगटीलाई कांग्रेसका पुष्पबहादुर शाहले पछ्याइरहेका छन्।
एमालेले समानुपातिकतर्फ २९ लाख १० हजार ६७७ मत गणना हुँदा ४ लाख ३ हजार ८९९ मत प्राप्त गरेको छ।
एमाले यसपटक अनपेक्षितरूपमा खुम्चिएको छ। शीर्ष नेताहरू अधिकांशले पराजय व्यहोरेका छन्।
झापा–५ बाट उम्मेदवार बनेका पार्टी अध्यक्ष केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग पराजित भए। शाहले ६८ हजार ३४८ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा २०४८ सालदेखि त्यहाँबाट निर्वाचित हुँदै आएका अध्यक्ष ओलीले १८ हजार ७३४ मत ल्याए।
यसपटक एमालेका पाँचमध्ये तीन उपाध्यक्ष उम्मेदवार थिए। उपाध्यक्ष विष्णु पौडेल रूपन्देही–२ बाट उम्मेदवार थिए। उनी रास्वपाका सुलख खरेलसँग पराजित भए।
खरेल ५६ हजार ५५० मत ल्याएर निर्वाचित भए भने निकट प्रतिस्पर्धी उपाध्यक्ष पौडेलले १२ हजार ८६१ मत ल्याए।
उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ लमजुङबाट उम्मेदवार थिए। उनी पनि रास्वपाका उम्मेदवार धर्मराज केसीसँग पराजित भए। केसीले ३३ हजार ८९८ मत ल्याउँदा एमाले उपाध्यक्ष गुरूङले १६ हजार ८७६ मत ल्याए।
अर्का उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२ बाट तुलनात्मक कम मतान्तरमा रास्वपाका गोविन्द पन्थीसँग पराजित भए। पन्थी पूर्वप्रहरी हुन्। उनले पन्थीले १६ हजार ९६७ मत ल्याए। विष्टले १६ हजार ४०६ मत ल्याए।
एमाले महासचिव शंकर पोखरेल दाङ–२ बाट पराजित भए। उनी रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यसँग भएका हुन्। आचार्यले ४३ हजार ५५९ मत ल्याए। पोखरेलले १५ हजार २८७ मत ल्याए। दाङ–२ का कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५५८ मत ल्याएका थिए।
उम्मेदवार बनेका दुवै उपमहासचिव, लेखराज भट्ट र रघुवीर महासेठ दुवै पराजित भए।
भट्ट कैलाली–४ मा तेस्रो भए। कैलाली–४ मा रास्वपाका खेमराज कोइराला २८ हजार ५५६ मतसहित निर्वाचित हुँदा कांग्रेसका गोखरबहादुर विष्टले ११ हजार ३०१ मत ल्याएका थिए।
एमाले उपमहाचिव भट्टले ९ हजार ४४४ मत ल्याए।
अर्का उपमहासचिव रघुवीर महासेठ धनुषा–३ बाट पराजित भए। उनी पनि धनुषा–४ मा तेस्रो भए।
धनुषा–४ बाट रास्वपाका राजकिशोर महतोले ४८ हजार २७० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका महेन्द्र यादवलाई १५ हजार ८०९ मत ल्याए भने महासेठले ११ हजार ५२९ मत ल्याए।
सचिव भानुभक्त ढकाल तेह्रथुममा पराजित भए। त्यहाँबाट पहिलोपटक प्रतिस्पर्धी बनेका ढकाल नेपाली कांग्रेसका सन्तोष सुब्बासँग पराजित भए। सुब्बाले ११ हजार ५६१ मत ल्याए भने एमाले सचिव ढकालले १० हजार ६८२ मत ल्याए। सचिव राजन भट्टराई काठमाडौं–४ बाट पराजित भए।
उनी पनि त्यहाँ तेस्रो भए। काठमाडौं–४ बम २९ हजार १४२ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा कांग्रेसका सचिन तिमल्सिना ८ हजार ८२४ मतसहित दोस्रो भए। भट्टराई ५ हजार ७३३ मत सहित निर्वाचित भए।
सचिव महेश बस्नेत भक्तपुर–२ बाट पराजित भए। भक्तपुर–२ मा उनी रास्वपाका राजीव खत्रीसँग पराजित भए। खत्रीले ४२ हजार ३३४ मत ल्याएर निर्वाचित हुँदा बस्नेत १० हजार ९९६ मत ल्याए। तेस्रो स्थानमा रहेका कविर राणाले ८ हजार ४०१ मत ल्याए।
एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५ बाट पराजित भए। त्यहाँ उनी २०५६ सालदेखि उम्मेदवार हुँदै आएका थिए। त्यहाँबाट दुई पटक विजयी बनेका पोखरेलले यसपटक जमानत पनि जोगाउन सकेनन्।
काठमाडौं–५ मा सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएर सांसद जित्दा दोस्रो स्थामा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ९ हजार १५९ मत ल्याए। पोखरेलले ४ हजार ७०१ मत ल्याए।
एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवाली गुल्मी–१ का पराजित भए। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य सागर ढकालसँग पराजित भए। ढकालले २९ हजार ६४२ मत ल्याए भने ज्ञवालीले १५ हजार १८१ मत ल्याए। तेस्रो स्थानमा रहेका कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ५०५ मत ल्याए।
एमाले सचिव शेरधन राई भोजपुरमा पछि परेका छन्। उनलाई एमाले नै पृष्ठभूमिका ध्रुवराज राईले पछि पारेका छन्। ध्रुवराज राईले १३ हजार ४५५ मत ल्याउँदा शेरधन राईले १२ हजार ५१ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका बालकृष्ण थापाले ७ हजार ६६० ल्याएका छन्।