सिन्धुपाल्चोक–२ मा नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल निर्वाचित भएका छन्।
दुलाल २१ हजार ५७२ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बंशलाल तामाङले १८ हजार ८४८ मत ल्याए। तेस्रो स्थानमा रहेका नेकपा एमालेका शेरबहादुर तामाङले १५ हजार ५१४ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यहाँ चौथो रह्यो।
रास्वपाका अजय श्रेष्ठले १३ हजार ९१७ मत प्राप्त गरे।
सिन्धुपाल्चोक–२ को यो क्षेत्रमा २०४८ सालदेखि २०५६ सालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पशुपति शमशेर राणाले निर्वाचन जित्दै आएका थिए। २०६४ मा तत्कालीन नेकपा (माओवादी) का दावा तामाङले चुनाव जितेका थिए भने २०७० र २०७४ मा एमालेका शेरबहादुर तामाङ निर्वाचित भएका थिए। २०७९ सालमा कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका थिए।
नवनिर्वाचित दुलाल यसअघि बागमती प्रदेशका मन्त्रीसमेत भएका थिए। प्रदेश सभा सदस्यमा दोहोर्याएर निर्वाचित भएका दुलालले त्यहाँबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए।