बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले समानुपातिक तर्फ ६६ प्रतिशत बढी मत प्राप्त गरेको छ।
कुल १ लाख ३५ हजार ५० मतदाता रहेको क्षेत्र नं. २ मा ८६ हजार ७१३ मत खसेको थियो। जसअन्तर्गत ८५ हजार ३९६ मत सदर भएका थिए।
निर्वाचन कार्यालयका अनुसार रास्वपाले ५६ हजार ७७२ मत प्राप्त गरेको छ।
जुन सदर मतको ६६.४८ प्रतिशत हो।
प्रत्यक्षतर्फ पनि क्षेत्र नं. २ मा रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत प्राप्त गरेका थिए।
२०७९ सालको निर्वाचनमा पनि रास्वपाले समानुपातिकतर्फ २५ हजार ६७३ मत ल्याएर यो क्षेत्रमा पहिलो पार्टी बनेको थियो।
यस पटकको निर्वाचनमा भने रास्वपाले अघिल्लो निर्वाचनभन्दा दोब्बर भन्दा बढी मत प्राप्त गरेको हो।
नेकपा एमालेले समानुपातिक तर्फ जम्मा १० हजार ८९८ मत प्राप्त गरेको छ। यो मत सदर मतको १२.७६ प्रतिशत हो।
एमालेले प्रत्यक्षभन्दा समानुपातिक तर्फको मत घटाएको छ।
एमालेका विष्णु पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेका थिए। एमालेले समानुपातिक तर्फ पनि अघिल्लो निर्वाचनभन्दा यस पटकको निर्वाचनमा झन्डै आधा मत कम ल्याएको छ। अघिल्लो निर्वाचनमा एमालेले समानुपातिकतर्फ २१ हजार १८३ मत पाएको थियो।
त्यस्तै नेपाली कांग्रेसले समानुपातिकतर्फ ८ हजार ४६७ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले प्राप्त गरेको समानुपातिक मत सदर मतको ९.९१ प्रतिशत हो। कांग्रेसले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ १३ हजार ४५० मत ल्याएर तेस्रो बनेको थियो।
क्षेत्र नं. २ मा समानुपातिकतर्फ राप्रपाले २ हजार ५४७ मत सहित चौथो तथा श्रम संस्कृति पार्टीले २ हजार ३२४ मत सहित पाँचौँ भएको छ।