नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा आफ्नो मतमार्फत् नागरिकले पार्टीको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृति गरेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उपमहासचिव योगेश भट्टराईले एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी हुनुपर्ने बताएका छन्।
‘निर्वाचनमा आफ्नो मतमार्फत् जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृति गरेका छन्। यो आजको वस्तुगत यथार्थ हो। हामीले आफूभित्र सर्वांगीण रूपान्तरणमार्फत् जनसमर्थन पुनः आर्जनको बाटो लिनु पर्दछ,’ उनले भनेका छन्, ‘मूलतः भाद्र २३ र २४ पछि हाम्रो पार्टीले लिएका नीति ठिक छैनन्, त्यसमा करेक्सन गरौं भनेर हामीले नेतृत्व र सिगो पार्टी पंतिलाई बैठक, भेटघाट र महाधिवेशन मार्फत पटक–पटक अनुरोध गर्यौं। तर सफल भएनौं। अब पुनः छलफल र बहस खुला गर्नु पर्दछ।
हरेक सार्वजनिक संस्था/संगठनमा जिम्मेवारी र जबाफदेहीता अहम् महत्त्वको सवाल हुने उनको भनाइ छ।
‘नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन, जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नु पर्दछ। त्यस पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्दछ,’ उनले भनेका छन्।
यो सबैको जबाफदेहीता फेरि पनि प्रमुख नेता कै रहने उनले बताएका छन्। सफलता वा असफलता पछिको जवाफदेहीताको कार्यान्वयन कसरी हुन्छ? बहसको विषय यो हुनुपर्ने धारणा राखेका छन्।
‘पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नु पर्छ। पार्टीले सामना गर्नु परेको अवस्था र असफलता सिगो पार्टीको असफलता हो। सामूहिक बुद्धि-विवेक र सामूहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ।
तसर्थः म सबै नेता कमरेडहरू र सिंगो पार्टी पंक्तिलाई हिजोका गुट (समूह) का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु। सथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरूलाई आफ्ना राय सुझावहरू पार्टी नेतृत्व समक्ष पठाउन अनुरोध गर्दछु,’ उनले भनेका छन्।
उनले पार्टी पंक्तिलाई सम्बोधन गर्दै ‘हामी ढलेका मात्र हौ, मरेका होइनौं’ भनेका छन्।
सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फत् एमाले पंक्ति उठ्ने, पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउने बताएका छन्।
‘संयम र धीरताकासाथ पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ्न र आत्मभर्त्सना होइन आत्मसमीक्षाको बाटोमा हिड्न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन्, ‘राजनीतिक दल एउटा सार्वजनिक संस्था हुनुको नाताले नेकपा एमालेका बारेमा आफ्ना सुझाव, आलोचना र टिप्पणीहरू पठाउन समस्त बुद्धिजीवी मित्रहरू र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु।’
राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा वाम–लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार रहेको उनको भनाइ छ।
‘यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक विचार र शक्तिका बीचका सकारात्मक सहकार्यका लागि सबैमा अपिल गर्दछु,’ उनले अन्तिममा भनेका छन्।