धनुषा-१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजी विरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा फागुन २९ गते छलफल हुने भएको छ।
सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगको पनि कुरा सुन्नुपर्ने बताउँदै छलफलका लागि बोलाएको प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
उनकाअनुसार फागुन २९ गते फलफलमा आउँदा फागुन १८ गते उम्मेदवारी खारेज गर्ने निर्णयसहितको फाइल लिएर आउन आयोगलाई आदेश दिएको छ।
‘अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निर्वाचन आयोगको समेत कुरा सुनी निवेदकको उम्मेदवारी खारेज गर्ने गरी भएको निर्णयसमेत हेरी निष्कर्षमा पुग्नु उपयुक्त हुने देखिएबाट सो प्रयोजनार्थ फागुन २९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोकी सो छलफल पेसीमा विपक्षी आयोगको फागुन १८ को निवेदकको उम्मेदवारी खारेज गर्ने सम्बन्धी निर्णय सहितको फाइल लिई आउनू,’ उनले भने।
निर्वाचन आयोगल फागुन १८ गते किशोरी साह कमलको नाम बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले उनलाई कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरेको थियो। उनको कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको थियो।
बैंकको ऋण नतिरेको, चेक बाउन्स भएको लगायतका मुद्दा लागेपछि सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ।
यसरी उम्मेदवारी खारेजीविरूद्ध उनी फागुन १९ गते सर्वोच्च पुगेका थिए। उम्मेदवारी खारेज भए पनि धनुषा-१ मा मतगणना भइरहँदा रास्वपाले नै धेरै मत पाएको छ। धेरै मत पाएपछि निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।