निर्माणाधीन नयाँ संसद भवनमा प्रतिनिधि सभाको बैठक कक्ष तत्कालै तयार नहुने भएको छ।
बैठक कक्ष तयार हुन समय लाग्ने भएपछि फागुन २१ गते भएको निर्वाचनबाट चुनिएका सांसदहरूलाई सपथ ग्रहण गराउन गराउन अस्थायी हल निर्माण तीव्र पारिएको छ। निर्माणाधीन संसद भनवकै माथिल्लो तल्लामा रहेको बहुउद्देशीय हलमा प्रतिनिधि सभाको कक्ष तयार पार्न लागिएको हो।
नयाँ हलमा माइक (कन्फ्रेन्सिङ) सिस्टमदेखि सभामुखको आसन कक्ष तयार पार्न लागिएको हो। उक्त हलमा केही समय प्रतिनिधि सभाको बैठक समेत सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको हो। प्रधानमन्त्रीको विश्वासको मत र अन्य सुरूवाती बैठकहरू उक्त हलमा नै सञ्चालन हुनेछ।
सहरी विकास मन्त्रालयको भवन निर्माण महाशाखाको विशेष भवन निर्माण आयोजनाका रोशन श्रेष्ठले बैठक सञ्चालनका लागि अस्थायी हल निर्माण भइरहेको जानकारी दिए।
‘प्रतिनिधि सभाको बैठक कक्ष तयार हुन समय लाग्ने भयो,’ श्रेष्ठले भने, ‘केही समय आवश्यक पर्दा सोही ‘मल्टिप्रपोज हल’मा नै बैठक सञ्चालन गर्न सकिने गरी नयाँ हल तयार पारिरहेका छौं।’
तर नयाँ हलमा प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठक गर्न सिटको अभाव हुने संसद सचिवालयले जनाएको छ। नयाँ प्रतिनिधि सभा निर्वाचपछि राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सभालाई पहिलो अधिवेशनका दौरान सम्बोधन गर्न प्रचलन छ।
प्रतिनिधि सभामा २ सय ७५ सांसद छन्। त्यस्तै राष्ट्रिय सभामा ५९ सांसद छन्।
प्रतिनिधि सभाको बैठक कक्षमा अहिलेसम्म सिट राख्न सकिएको छैन। हलको ‘फल सिलिङ’ अड्याउन सकिएको छैन।
‘फल सिलिङ’ राख्न फलामका डण्डीहरू राखिएका छन्। जसका कारण तल कार्पेट बिछ्याउन र सिट राख्न नसकिएको श्रेष्ठले बताए।
हलको फल्स सिलिङ अड्याउनु प्राविधिक रूपमा चुनौतीपूर्ण रहेको श्रेष्ठले बताए।
‘हल सिलिङ माथिको फ्रेममा अड्याउनुपर्छ। संसद भवनमा दुर्घटना हुन दिनु पनि भएन,’ श्रेष्ठले भने, ‘बैठक कक्षमा पनि काम रोकिएको छैन। तर समय लाग्ने देखियो।’
सहरी विकास मन्त्रालयले नयाँ प्रतिनिधि सभाको बैठकका लागि समय तालिका बनाएर काम सुरू गरेको थियो। तर कम्तिमा असार मसान्तसम्म नयाँ भवनको काम सन्पन्न नहुने देखिएको हो।
‘निर्माण सम्पन्न गर्न केही समय लाग्ने भयो,’ श्रेष्ठले भने, ‘प्राविधिक विषय हो। तर छिट्टै सक्ने गरि काम गर्छौं।’
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी













