न्याय परिषदले प्रधानन्यायाधीशको योग्यता पुगेका ६ जना न्यायाधीशहरूको नाम संवैधानिक परिषदमा सिफारिस गरेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण आगामी चैत १८ गतेदेखि अवकाशमा जाँदैछन्। उनी अवकाशमा जान लागेकाले परिषदले नियुक्तिका लागि ६ जना न्यायाधीशहरूको नाम संवैधानिक परिषदमा सिफारिस गरेको हो।
नाम सिफारिस वरिष्ठताका आधारमा गरिएको छ।
वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस भएको न्याय परिषदका प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिए।
प्रधानन्यायाधीश हुन सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएर काम गरेको हुनुपर्ने संवैधानिक व्यवस्था छ।
त्यस कारण तीन वर्ष न्यायाधीश भएका व्यक्तिको रोष्टर बनाएर नाम सिफारिस भएको हो।
प्रधानन्यायाधीशको पद रिक्त भएको एक महिना अगावै परिषदले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ।