नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ २० जनाको नाम तय गरी निर्वाचन आयोगमा पठाएको छ।
फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो।
आज केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ २० सिटमा १५ जना महिला र ५ जना पुरूषको नाम सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
शेरबहादुर देउवा सभापति हुँदा समानुपातिकतर्फ नाम निर्वाचन आयोगमा पठाइएको थियो। सोही सूचीबाट २० जनाको नाम अहिले सिफारिस गरिएको हो।
प्रवक्ता चालिसेले पार्टीले समानुपातिकतर्फ नाम सिफारिस गरिएकोसम्बन्धी विवरण पछि निर्वाचन आयोगले सार्वजनिक गर्ने पनि बताए।
उनकाअनुसार संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) गरी ६२ सिटमा कांग्रेसको प्रतिनिधित्व हुन्छ।
‘त्यसमा २१ सिटमा महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने देखिन्छ। त्यसैले अहिले २० जना समानुपातिक पठाउँदा १५ जना महिला पठाउनुपर्ने हुन्छ,’ उनले भने, ‘यो निर्वाचनकै प्रक्रिया हो। यो नाम आजै आयोगलाई पठाइन्छ। कुनै कलस्टरमा तलमाथि भए सच्याउँछौं।’
यसअघि पठाएको सूचीमा फेरबदल गर्ने सुविधा प्राप्त नहुने पनि उनले बताए।
साथै उनले चुनावी समीक्षा गर्न यही साता केन्द्रीय समिति बैठक बस्ने पनि जानकारी दिए।