चीनले इरानलाई अमेरिकासँग फेरि युद्ध नचर्काउन आग्रह गरेको छ।
चिनियाँ विदेश मन्त्री वाङ यीले चीन भ्रमणमा रहेका इरानी समकक्षी अब्बास अराग्चीलाई स्थायी युद्धविरामको लागि अमेरिकासँग वार्ता जारी राख्न इरानलाई दबाब हालेको भनेर ब्लुमबर्गले लेखेको छ। छन्।
“हाम्रो विश्वास छ कि एक व्यापक युद्धविराममा ढिलाइ गर्नु हुँदैन। शत्रुतापूर्ण गतिविधिहरू पुनः सुरु गर्नु उचित छैन, र वार्तालाई निरन्तरता दिनु विशेष रूपमा महत्त्वपूर्ण छ,” बेइजिङमा भएको बैठकको सुरुवातमा वाङले भने।
यसै हप्ता मात्रै संयुक्त अरब इमिरेट्स (युएई) माथि इरानले थप आक्रमण गर्यो भने ‘स्ट्रेट अफ हर्मुज’मा पनि जहाजहरूको आवतजावतका विषयमा भिडन्त भएको थियो। यस्तो अवस्थामा चीनले इरानलाई युद्ध अन्त्य गर्ने सल्लाह दिएको हो।
केही दिनमै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीन भ्रमण गर्दैछन्। केही हप्ता अघि नै हुनुपर्ने सो भ्रमण ट्रम्पले इरानसँगको युद्धका कारण स्थगित गरेका थिए। त्यसैले चीन भ्रमणमा आउँदा ट्रम्पको सारा ध्यान अमेरिका र चीनको सम्बन्धमा रहोस् भनेर युद्ध नचर्काउन चीनले इरानलाई दबाब हाल्न खोजेको हुन सक्छ।
इरानसँग संवाद भइरहँदा चीनले इरानसँग राम्रो सम्बन्ध भएको रूससँग पनि संवाद जारी राखेको ब्लुमबर्गले जनाएको छ। यसै महिना रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि चीन भ्रमण गर्ने सम्भावना छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)