इरानले जारी युद्ध रोक्न अमेरिकासँग कडा सर्तहरू राखेको छ।
इरानले अमेरिकासँग वार्तामा बस्न धेरै कडा सर्त राखेको भनेर अमेरिकी पत्रिका 'द वाल स्ट्रिट जर्नल' ले लेखेको छ।
अमेरिकाले फेरि आक्रमण नगर्ने ग्यारेन्टी बाहेक अमेरिकाले इरानमा आक्रमण गरेको क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सेना फिर्ता लानुपर्ने र ‘स्ट्रेट अफ हर्मुज’ प्रयोग गरेबापत इरानलाई जहाजहरूले शुल्क तिर्नुपर्ने लगायत सर्त पनि राखेको जर्नलले जनाएको छ।
त्यसबाहेक इसराइलले लेबननमा रहेको इरान संचालित हिजबुल्लाह समूहलाई प्रहार गर्न बन्द गर्नु पर्ने र आफ्नो मिसाइल कार्यक्रम पनि बिना कुनै सर्त संचालन गर्नु पाउनु पर्ने भनेको छ।
इरानको सत्तामा पछिल्लो समय इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कोर्स' (आइआरजिसी) झन् धेरै शक्तिशाली भएकाले यस्ता कडा सर्त राखेको हो।
इरानका माग हास्यस्पद र सम्बोधन गर्न नसकिने भएको वार्ताबारे जानकार एक अमेरिकी अधिकारीले प्रतिक्रिया दिएको पनि जर्नलले लेखेको छ।
इरानले ४८ घन्टाभित्र 'स्ट्रेट अफ हर्मुज' नखोले बिजुली उत्पादन गर्ने इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच दिनसम्म ऊर्जा संरचनामा प्रहार नगर्ने घोषणा गरेका छन्।
शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले ४८ घण्टाभित्र इरानले हर्मुज नखोले इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की दिएका थिए। सबैभन्दा ठूला ऊर्जा केन्द्रहरूबाट सुरू गर्दै प्रायः सबै नष्ट गर्ने ट्रम्पले बताएका थिए।
त्यसको जबाफमा ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गरे मध्यपूर्वका सबैखाले पूर्वाधारमा आक्रमण गर्ने धम्की इरानले आइतबार दिएको थियो। यसले जारी युद्ध अझै भड्किएर खाडी क्षेत्रका सर्वसाधारणको जनजीविकामा नै प्रत्यक्ष असर पर्ने खतरा बढेको थियो।
तर ट्रम्पले दिएको ४८ घन्टाको म्याद सकिनु अघि नै उनले सोमबार पाँच दिनका लागि इरानी ऊर्जा संरचनामा प्रहार नगर्ने जनाए। पछिल्ला दुई दिनमा वैमनश्यताको पूर्ण समाधानका लागि इरानसँग धेरै राम्रो र फलदायी संवाद भएकाले त्यसो गरेको उनले सामाजिक सञ्जालमा खुलाएका थिए।
इरानले अमेरिकासँग प्रत्यक्ष कुरा भएको अस्वीकार गरे पनि पछिल्ला दिनमा केही मित्र राष्ट्रसँग युद्धबारे कुरा भइरहेको स्वीकार गरेको छ। ती मित्र राष्ट्रहरू मार्फत इरानले वार्तामा बस्न यस्ता कडा सर्त राखेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)