अमेरिकाले इरानी भूमिबाट आफ्नो सैनिकलाई उद्धार गरेको छ।
शुक्रबार इरानले खसालेको एफ-१५ ई स्ट्राइक इगल लडाकू विमानको चालक दलका एक सदस्यलाई अमेरिकाले चौबीस घन्टाभन्दा बढी समयपछि उद्धार गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही बेरअघि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर इरानमा हराइरहेका सैनिकको उद्धार गरिएको पुष्टि गरेका छन्।
'हामीले उहाँलाई फेला पारेका छौं,' उनले भनेका छन्।
ट्रम्पले यसलाई अमेरिकी इतिहासकै सबैभन्दा साहसी खोजी तथा उद्धार (सर्च एन्ड रेस्क्यू)मध्येको एक रहेको बताएका छन्।
उद्धार गरिएका अधिकारी एक कर्नेल दर्जाका उच्च सम्मानित सैनिक रहेको र अहिले सुरक्षित अवस्थामा रहेको पनि ट्रम्पले बताएका छन्।
एफ-१५ ई स्ट्राइक इगल लडाकु विमान शुक्रबार इरानमा खसेपछि उनीसहित दुई जनाले हामफालेका थिए। तीमध्ये एक जनाको तत्काल उद्धार गरिएको थियो भने अर्का सदस्यको खोजी शनिबारसम्म जारी रहेको थियो।
हराइरहेका सैनिकको खोजीका लागि अमेरिकी सी-३१० हर्कुलस विमान र उद्धार हेलिकप्टरहरू इरानको पहाडी भूभागमा थोरै उचाइमा उडाएर खोजी गरिएको भनेर अमेरिकी पत्रिका वासिङ्टन पोस्टले लेखेको छ।
त्यसरी खोजी गर्दा विपक्षीबाट आक्रमणको भयानक जोखिम हुन सक्ने भएतापनि अमेरिकाले सफलतापूर्वक खोजी अभियान सम्पन्न गरेको हो।
इरानी सेनाले पनि बेपत्ता भएका अमेरिकी सेनाको व्यापक खोजी गरेको थियो।
विमानबाट खसेका अमेरिकी सैनिकलाई नियन्त्रणमा लिनेलाई पुरस्कार समेत दिने घोषणा इरानी सञ्चार माध्यमहरुले गरेको थियो।
स्थानीय वासिन्दाहरूलाई पनि ती अमेरिकी सैनिकलाई जहाँ भेटिन्छ त्यही निशाना बनाउन आह्वान गरेको थियो।
ट्रम्पले आफ्नो सैनिक इरानको जोखिमपूर्ण पहाडी क्षेत्रमा शत्रुको नियन्त्रणरेखा भित्र भौतिक रूपमा एक्लै रहे पनि सेनाको कमान्डर, उच्च सैन्य नेतृत्व र उनका सहकर्मीहरूले चौबीसै घन्टा निगरानीमा राख्दै आएको बताए।
'मेरो निर्देशनमा अमेरिकी सेनाले विश्वकै अत्याधुनिक हतियारसहित दर्जनौँ विमान परिचालन गरेर उनलाई उद्धार गरेको हो,' ट्रम्पले भनेका छन्, 'हामी कहिल्यै कुनै अमेरिकी सैनिकलाई पछाडि छोड्दैनौं। यी दुवै अभियानमा एक जनासमेत अमेरिकी सैनिकको ज्यान नगएको, गम्भीर घाइते पनि नभएको तथ्यले हामीले इरानको आकाशमा पूर्ण नियन्त्रण र श्रेष्ठता हासिल गरिसकेको प्रमाणित गर्छ।'