अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारको रात बेचैनी र छटपटीमा बिताए। ह्वाइट हाउसको वेस्ट विंग, ओभल अफिस र छेउछाउका भान्सा कक्षहरूमा निरन्तर ओहोरदोहोर गरिरहे। निरन्तर सूचना र अपडेटहरू लिइरहे।
त्यस दिन इरानमा अमेरिकी लडाकू विमान एफ-१५ ई खसेको थियो। लडाकू विमानमात्रै होइन चालक दलका दुई जना सदस्य पनि इरानी भूमिमै खसेका थिए।
अमेरिकी इतिहासमा झन्डै दुई दशकपछि शत्रुको भूमिमा चालक दलका सदस्यसहित लडाकू विमान खसेको थियो। दुईमध्ये एक जनालाई अमेरिकी वायु सेनाले तत्कालै उद्धार गरेको थियो।
अर्का एक जना भने सम्पर्कविहीन भएका थिए। उनी कर्नेल दर्जाका हतियार प्रणाली अधिकृत थिए।
आफ्नो भूमिमा 'शत्रु'को विमान मात्रै होइन, सैनिक नै छन् भनेपछि इरानले पनि खोजी व्यापक पारेको थियो। उनलाई पक्राउ गर्न सके इरानले त्यसलाई ठूलै उपलब्धिका रूपमा प्रचार गर्न सक्थ्यो।
इरानले सरकारी टेलिभिजन र सञ्चारमाध्यममार्फत अमेरिकी सैनिकलाई नियन्त्रणमा लिन आह्वान गर्दै ठूलो पुरस्कार दिने घोषणा गरेको थियो।
इरानको घोषणापश्चात बेपत्ता अमेरिकी सैनिक अझै खतरामा परेका थिए। त्यसकारण उनको तत्काल उद्धार अपरिहार्य थियो।
उद्धारका लागि अमेरिकी सेनाले तत्कालै दुइटा ब्ल्याकहक सैन्य हेलिकप्टर पठायो। ट्रम्प ओभल अफिसमा बसेर अपडेट लिइरहेका थिए।
तर उक्त हेलिकप्टर पनि इरानी सेनाको आक्रमणमा पर्यो। केही सदस्य घाइते भएपछि हेलिकप्टरलाई कुवेतमा अवतरण गराइएको थियो।
त्यसपछि शनिबार ठूलो सैन्य शक्तिसहित 'सर्च एन्ड रेस्क्यु अपरेसन' चलाएर अमेरिकाले पहाडको खोँचबाट आफ्नो सैनिकलाई उद्धार गरेको हो।
शनिबार स्थानीय समयअनुसार मध्यरातको १२ बजे ट्रम्पले वी गट हिम (हामीले उनलाई फेला पार्यौं) भनेर आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमा लेखेका थिए। ट्रम्पले अमेरिकी सेना विश्वकै सुसज्जित र शक्तिशाली सेना हो भन्ने फेरि प्रमाणित भएको दाबी पनि गरे।
घटनापश्चात अमेरिकी सञ्चारमाध्यमहरूले यो अपरेसनबारे केही विस्तृत सार्वजनिक गरेको छ।
ती सैनिक कसरी झन्डै दुई दिन बढी समय दुश्मनको भूमिमा इरानी ड्रोन र सैन्य हेलिकप्टरलाई चक्मा दिँदै बाँच्न सफल भए भनेर घटनाबारे जानकारी राख्ने अधिकारीहरूलाई उद्धृत गरेर अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ।
घाइते शरीर जसोतसो पहाडको खोँचमा पुगेका ती सैनिकसँग हतियारको नाममा एउटा पेस्तोल मात्रै थियो। वासिङ्टनमा सिग्नल पठाउन सक्ने एउटा सञ्चार सेट भने उनीसँग थियो। तर त्यसबाट इरानी सेनाले 'ट्रेस' गर्न सक्ने खतरा पनि हुन्थ्यो।
माथि इरानी हेलिकप्टर र ड्रोन घुमिरहेका थिए। तल सेना र मिलिसियाहरू खोजी गरिरहेका थिए।
वाल स्ट्रिट जर्नलका अनुसार उनले आफूसँग भएको सञ्चार सेटबाट वासिङ्टनलाई रेडियो सन्देश पनि पठाएका थिए। तर वासिङ्टनमा त्यो सन्देश तुरुन्तै विश्वास गरिएन। अधिकारीहरूले यसलाई इरानी जाल हुन सक्ने आकलन गरे। तर यसले उनी जीवित रहेको पुष्टि भयो।
त्यसलगत्तै रक्षामन्त्री पिट हेगसेथ र संयुक्त चिफ अफ स्टाफ प्रमुख ड्यान केनले ट्रम्पलाई ब्रिफिङ गरे। ट्रम्पको प्रष्ट निर्देशन थियो- हामीले जुनसुकै हालतमा उनलाई फिर्ता ल्याउनुपर्छ।
त्यसपछि ठूलो सैन्य शक्तिसहितको उद्धार अपरेसन सुरू भएको थियो।
जर्नलका अनुसार करिब १०० जना विशेष फौज, दर्जनौं लडाकू विमान, हेलिकप्टर परिचालन गरिएको थियो। गुप्तचर निकाय सिआइएले निरन्तर खुफिया जानकारी उपलब्ध गराएको थियो।
घाइते कर्नेल सिग्नल पठाउन धेरै पटक पहाडमाथि चढ्ने र फेरि लुक्न खोँचमा आउने गरेको अर्को अमेरिकी अखबार द वाशिङ्टन पोस्टले लेखेको छ। स्थान परिवर्तन गरिरहँदा सिआइएलाई उनी बसेको ठाउँ पत्ता लगाउन गाह्रो भएको थियो।
अस्थायी एयरस्ट्रिपमा अवतरण गरेको एमसी-१३० जे कमाण्डो विमानको क्रममा पांग्रा धसिएपछि पनि समस्या भएको थियो।
सिआइएले त्यहाँ एउटा जुक्ति निकाल्यो। कर्नेलको स्थान पत्ता लाग्नासाथ उसले सुरूमा ती कर्नेललाई अमेरिकी सेनाले उद्धार गरेर लगिसक्यो भन्ने भ्रामक सूचना इरानमा फैलायो। यसले सम्पूर्ण रूपमा त्यही घटनामा मात्रै केन्द्रित गरेको इरानको ध्यान अन्यत्र मोड्यो।
पहाड छेउछाउ पुगेका अमेरिकी सेनाको चार वटा बी-१ बमवर्षकहरुले सुरूमा करिब १०० वटा २००० पाउन्डका स्मार्ट बम खसाल्यो। एमक्यू-९ रिपर ड्रोनहरूले पहाड नजिक पुगेका इरानी लडाकूहरुलाई निशाना बनायो।
त्यसरी कर्नेल लुकेको वरिपरि सुरक्षा घेरा तयार भएपछि डेल्टा फोर्स र सिल टिम सिक्ससहितका कमाण्डोहरू जमिनमा अवतरण गरे। र इरानी सेनाभन्दा अगाडि नै पहाडको खोँचमा पुगेर कर्नेललाई उद्धार गरे।
जमिनमा पांग्रा धसिएर अड्किएको एससी-१३० जे र अर्को एमएच-६ लिटल बर्ड हेलिकप्टर उड्ने अवस्थामा नभएपछि सेनाले आकाशबाटै उक्त हेलकप्टरमा बमबारी गरी ध्वस्त पारे। ती हेलिकप्टरहरू शत्रुको हातमा पर्न नदिनका लागि अमेरिकी सेनाले त्यसो गरेको वाल स्ट्रिट जर्नलले एक अधिकारीलाई उद्धृत गरेर लेखेको छ।
यो अपरेसन इसराइलले पनि गुप्तचर सहायता गरेको थियो। सँगै उसले इरानी लडाकूबाट अवरोध नहोस् भनेर आवश्कताअनुसार त्यसवरपर हवाई हमला पनि गरेको थियो।
उद्धार सफल भएपछि ट्रम्पले शनिबार मध्यरातमा लेखेका थिए- हामीले उनलाई फिर्ता ल्यायौं।
ट्रम्पले अपरेसनका क्रममा ठूलो संख्यामा इरानी सेना र लडाकू विमान ध्वस्त पारिएको बताएका छन्।