अमेरिका र इरानबीच ४५ दिनका लागि युद्धविराम गराउन मध्यस्थकर्ताहरूले अन्तिम प्रयास गरिरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सम्ममा 'स्ट्रेट अफ हर्मुज' नखोले इरानका सबैखाले भौतिक पूर्वाधारमा प्रहार गर्ने धम्की दिएका छन्। यदि अमेरिकाले त्यसो गरे इरानले पनि मध्यपूर्वका देशका सार्वजनिक संरचनाहरूमा प्रहार गर्नेछ। त्यस्तोमा जारी युद्ध अझ धेरै ध्वंसात्मक भएर विश्व अर्थतन्त्र नै समस्यामा पर्न सक्छ।
त्यसैले बाँकी समयमा ४५ दिने युद्धविराम गराउन मध्यस्थकर्ताहरूले अन्तिम प्रयास गरिरहेको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
युद्धविराम हुने सम्भावना न्यून भए पनि युद्ध थप भड्किन नदिन अन्तिम प्रयास भइरहेको स्रोतहरूको हवाला दिँदै एक्सियसले जनाएको छ।
युद्ध रोक्न पाकिस्तान, इजिप्ट र टर्कीले अन्तिम प्रयास गरिरहेका छन्। साथै ट्रम्पका विशेष दूत स्टिभ विटकफ र इरानका विदेश मन्त्री अब्बास अराग्ले पनि एक अर्कालाई ‘टेक्स्ट मेसेज’ पठाइरहेका छन्।
मध्यस्थकर्ताहरूले दुई चरणको सम्झौताका सर्तहरूमा छलफल गरिरहेका एक्सियसले खुलाएको छ। जस अनुसार पहिलो चरणमा ४५ दिने युद्धविराम हुनेछ। सो अवधिमा युद्धको स्थायी अन्त्यका लागि वार्ता गरिनेछ। यदि वार्ताका लागि थप समय आवश्यक भएमा युद्धविरामको अवधि थप गर्न पनि सकिने छ।
हर्मुज पूर्ण रूपमा पुनः सञ्चालन गर्न र इरानको आणविक हतियार कार्यक्रमबारे भने दोस्रो चरणको अन्तिम शान्ति सम्झौतामा मात्रै सहमति हुनेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)