अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकै रातमा सखाप पार्न सक्ने चेतावनी दिए पनि इरानले ‘स्ट्रेट अफ हर्मुज’ नखोल्नेमा अडिग छ।
हर्मुज नखोले इरानलाई एकै रातमा ध्वस्त पार्ने ट्रम्पले धम्की दिए पनि त्यसको बेवास्ता गर्दै इरान सो जलमार्ग नखोल्ने अडानमा कायम छ।
पाकिस्तानको मध्यस्थतामा अमेरिकाले तत्काल युद्धविराम गर्न राखेको प्रस्ताव पनि इरानले अस्वीकार गरेको भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।
सो प्रस्तावमा हर्मुजको नाकाबन्दी हटाउने, र त्यसको १५ देखि २० दिनभित्र बृहत्तर शान्ति सम्झौताका लागि वार्ता गर्ने प्रस्ताव उल्लेख थियो।
त्यसलाई इरानले अस्वीकार गरेर जबाफमा १० बुँदे प्रस्ताव पठाएको छ। वार्ता चलिरहेको बेलामा गत जुन र यसपालि अमेरिकाले हमला गरेका कारण इरानले युद्धविराम नभएर स्थायी सम्झौता गर्न खोजेको छ।
अहिलेको युद्ध मात्रै नभएर खाडी क्षेत्रमा जारी सबै द्वन्द्वको अन्त्य, हर्मुजमा सुरक्षित आवतजावतका लागि एउटा मापदण्ड, इरान विरूद्ध लगाइएका प्रतिबन्धहरूको फुकुवा र पुनर्निर्माणका कुराहरू समेटिएको रोयटर्सले इरानी सरकारी मिडियाको हवाला दिँदै लेखेको छ।
ट्रम्पले मंगलबार सम्ममा ‘स्ट्रेट अफ हर्मुज’ नखोले इरानका सबैखाले भौतिक पूर्वाधारमा प्रहार गर्ने धम्की दिँदै आएका छन्। उनले दिएको समयसीमा सकिन लाग्दा इरानलाई एकै रातमा ध्वस्त पार्न सक्ने धम्की समेत दिएका छन्।
‘पूरै देशलाई एकै रातमा सखाप पार्न सकिन्छ। र त्यो रात भोलि नै हुन सक्छ,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने।
अमेरिकासँग इरानका प्रत्येक पुलहरू ध्वस्त पार्ने योजना भएको पनि उनले दाबी गरे।
‘केही घण्टाभित्रै इरानका हरेक पावर प्लान्टहरू काम नलाग्ने हुनेछन्, जल्नेछन्, विष्फोट हुनेछन् र फेरि कहिल्यै प्रयोगमा आउने छैनन्,’ उनले भने।
त्यस्तो भए अमेरिकाले युद्धपछि इरानको तेल नियन्त्रण गर्ने घोषणा गरेका छन्।
‘विजेताकै हातमा लुटको धन हुन्छ,’ उनले जिकिर गरे।
ट्रम्पले दिएको समयसीमा अघि नै ४५ दिने युद्धविराम गराउन मध्यस्थकर्ताहरूले अन्तिम प्रयास गरिरहेका छन्। तर त्यो प्रयास सफल हुने सम्भावना कम हुँदै गएको मानिन्छ।
युद्ध रोक्न पाकिस्तान, इजिप्ट र टर्कीले अन्तिम प्रयास गरिरहेका छन्। साथै ट्रम्पका विशेष दूत स्टिभ विटकफ र इरानका विदेश मन्त्री अब्बास अराग्ले पनि एक अर्कालाई ‘टेक्स्ट मेसेज’ पठाइरहेका छन्।
मध्यस्थकर्ताहरूले दुई चरणको सम्झौताका सर्तहरूमा छलफल गरिरहेका एक्सियसले खुलाएको छ। जसअनुसार पहिलो चरणमा ४५ दिने युद्धविराम हुनेछ। सो अवधिमा युद्धको स्थायी अन्त्यका लागि वार्ता गरिनेछ। यदि वार्ताका लागि थप समय आवश्यक भएमा युद्धविरामको अवधि थप गर्न पनि सकिने छ।
हर्मुज पूर्ण रूपमा पुनः सञ्चालन गर्न र इरानको आणविक हतियार कार्यक्रमबारे भने दोस्रो चरणको अन्तिम शान्ति सम्झौतामा मात्रै सहमति हुनेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)