नेपाल बार एशोसिएशनले कानुन व्यवसायीलाई परिचय पत्रबाटै सिंहदरबार प्रवेशको व्यवस्थाका लागि सहजीकरण गरिदिन प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएको छ।
बुधबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले सिंहदरबार प्रवेशमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गरेका हुन्।
‘विगतमा जस्तै कानुन व्यवसायीहरूको हकमा कानुन व्यवसायीको परिचयपत्रका आधारमा निर्वाध रूपमा सिंहदरबार परिसर भित्र प्रवेशका लागि साविक व्यवस्था बमोजिम हुन अनुरोध गर्दछौं,’ बारले भनेको छ।
आइतबारदेखि सरकारले सिंहदरबार प्रवेशमा कानुन व्यवसायीहरूलाई गेट पास लिनुपर्ने व्यवस्था गरेको छ। यसअघि कानुन व्यवसायीकै परिचय पत्रअनुसार भित्र प्रवेश गर्न पाइन्थ्यो।
सरकारले पास लिनुपर्ने व्यवस्था गरेपछि बारले कानुन मन्त्री, सचिवहरू र सांसदहरूको समेत ध्यानाकर्षण गराइसकेको छ।
‘सिंहदरबार परिसर भित्रको प्रशासकीय अदालत लगायतमा कानुन व्यवसायीहरूको प्रवेशमा गत केही दिनदेखि अवरोध सिर्जना भए उपर बारको ध्यानाकर्षण भई मौखिक रूपमा सम्बन्धित निकायको पटकपटक ध्यानाकर्षण गराइएकोमा कुनै सुनुवाई भएन,’ बारले भनेको छ।
यो पनि: सिंहदरबार प्रवेश गर्न कानुन व्यवसायीको परिचय पत्रले नहुने, बेग्लै गेट पास लिनुपर्ने
