राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा स्वयंसेवक माग गर्दै एउटा गुगल फारमको लिंक राखेका थिए।
उक्त लिंकमा गएर २४ घन्टा नबित्दै दुई हजारभन्दा बढीले स्वयंसेवक बन्न इच्छुक रहेको भन्दै फारम भरे।
मनिष अहिले त्यसैमध्ये १० देखि १२ जना स्वयंसेवक छान्ने प्रक्रियामा छन्।
'मैले आफूलाई सांसदको सचिवालयमा काम गरेकाले संसदीय भूमिका निर्वाह गर्न तयार पारेँ,' मनिषले सेतोपाटी पडकास्टमा भने, 'अहिले देशबाट मात्र नभएर विदेशमा रहेका नेपालीले पनि मलाई सघाउन चाहनुभएको छ। उहाँहरूले अर्थपूर्ण सहयोग गर्न खोजेको देखेर खुसी लागेको छ।'
स्वयंसेवकहरूलाई दैनिक काममा सहभागी गराउन नसके पनि विषयगत आधारमा उनीहरूको सुझाव लिने मनिषको योजना छ।
'फारम भरेकामध्ये कसैले पर्यटनमा विज्ञता छ भनेर लेख्नुभएको रहेछ भने हामी उहाँलाई पर्यटनसम्बन्धी विधेयक आउँदा सम्पर्क गर्छौं,' मनिषले भने, 'दुई हजार जनासँग प्रत्यक्ष संवाद गर्न सम्भव नभए पनि विधेयक र विषयवस्तुका आधारमा हामी जोडिने छौं।'
नवलपरासी बर्दघाट (सुस्तापूर्व) क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन जितेका मनिष आफैले पनि विगतमा सांसदको सचिवालयमा काम गरेका थिए। रास्वपाका समानुपातिक सांसद असिम शाहको सचिवालयमा रहेर काम गरेको अनुभव यसपटक सांसद बन्दा काम लागेको मनिष बताउँछन्।
'सांसदको काम, कर्तव्य र अधिकारबारे त्यति बेला अप्रत्यक्ष अनुभव गर्ने मौका पाएको थिएँ,' सेतोपाटी पडकास्टमा मनिषले भने, 'राजनीतिमा सुझबुझपूर्ण विचार राख्न भने विवेकशील नेपाली अभियानले सिकायो।'
त्यसो त मनिष २० वर्षकै उमेरमा विवेकशील नेपाली पार्टीबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। विवेकशील अभियानबाटै उनी डा. गोविन्द केसीले मेडिकल शिक्षा सुधारका लागि सुरू गरेको आन्दोलनमा सहभागी भएका थिए। अरू किसिमका जनचेतना जगाउने र सरसफाइ अभियानमा पनि संलग्न थिए।
मनिष कुनै राजनीतिक परिवारबाट आएका व्यक्ति होइनन्। उनका बुबा वैदेशिक रोजगारीमा गएका थिए। परिवारको आर्थिक स्रोत वैदेशिक रोजगारबाट आएको रेमिटेन्स थियो।
जेनजी र सरकारबीच भएको दसबुँदे सम्झौताको मस्यौदाकारका रूपमा काम गरेपछि उनी बालेन शाहको टिमसँगै रास्वपामा प्रवेश गरेका थिए। सांसद भएयता मतदाताको अपेक्षा कसरी सम्बोधन कसरी गर्ने होला भन्ने कुराले पिरोल्ने गरेको उनी बताउँछन्।
'मलाई धेरैले सामाजिक सञ्जालमा मेसेज गर्नुहुन्छ। जेनजी भएकाले कति जनाले इन्स्टाग्राममा मेसेज पठाउनुहुन्छ। चुनावमा टिकटक चलाउन थालेँ। त्यहाँ पनि मेसेस आउँछन्,' मनिषले भने, 'म मतदातासँग संवादमै रहन चाहन्छु। तर व्यवस्थापन गर्न अप्ठ्यारो हुँदो रहेछ।'
व्यवस्थापन सहज बनाउन रास्वपा सरकारले छिट्टै सांसदहरूलाई स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिदिए हुने भन्ने उनलाई लागेको छ।
'सांसद भएपछि विधायकी काममा सक्रिय हुनुपर्नेछ। विकास निर्माणको कामलाई संसदीय भूमिकासँग जोड्नुपर्नेछ। एक्लो व्यक्ति र ज्यानले सक्दैन,' मनिष भन्छन्, 'अघिल्लो सरकारले स्वकीय सचिवको निर्णय उल्ट्यायो। हाम्रो पार्टीको सरकारले त्यसलाई पुनर्बहाली गर्नुपर्छ। स्वकीय सचिव भनेको राज्यकोषको खर्च होइन, लगानी हो। त्यसले सांसद रिसोर्सफुल हुन्छ, रिसर्च गर्न सहयोग पुग्छ।'
रास्वपा सांसद मनिष खनालसँगको कुराकानी हेर्नुहोस् सेतोपाटी पडकास्टमा —