नेकपा एमाले रुपन्देहीले अहिलेकै अवस्थामा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेको छ।
जिल्ला कमिटीको बुधवार सम्पन्न बैठकले पार्टीलाई सही दिशा दिनका लागि तलदेखि माथिसम्मका सबै कमिटीहरूको पुनर्गठन अनिवार्य रहेको निष्कर्ष निकालेको हो।
एक सचिवालय सदस्यका अनुसार बैठकमा बोल्ने अधिकांश जिल्ला कमिटी सदस्यहरूले नेतृत्वले मात्रै नभई पार्टीका हरेक कमिटीले जनताको मन जित्ने गरी काम नगरेका कारण फागुन २१ को निर्वाचनको परिणाममा ठूलो क्षति ब्यहोर्नुपरेको बताएका थिए।
‘पार्टीको नेतृत्व जनता सामु गएन मात्रै होइन हामीले दिएका सुझाव पनि नेतृत्वले स्वीकार गरेन, त्यसकारण यो क्षति ब्यहोर्नुपरेको हो भन्ने सबैको धारणा थियो,’ ती सदस्यले भने।
एमाले केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्यहरू खिमलाल भट्टराई, दधिराम न्यौपाने (माधव शर्मा), गोपाल राना, गोमा देवी आचार्य, जलिल मिया र ज्ञानु केसी समेत सहभागी बैठकमा जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरेले पार्टी बलियो बनाउने सवालमा आफू राजीनामा दिन तयार रहेको बताएका थिए।
‘मैले छोडेर पार्टी बलियो बन्छ भने म तयार छु। बाधक बन्दिन,' गैरेले बैठकको सुरुमै भनेका थिए। ‘तर पार्टीको केन्द्रदेखि नै आयोजक कमिटी बनाएर जानुपर्छ. कमिटी ठूला मात्रै भए कामकाजी भएनन्,' उनले भनेका थिए।
बैठकका सहभागीहरूले पार्टी नेतृत्वको क्रियाकलाप र कमजोरी सच्याउने तर्फ ध्यान नदिएको उल्लेख गर्दै नेतृत्वले समय र जनताको समस्या पहिचान गर्न नसक्दा परिणाम पार्टीको पक्षमा आउन नसकेको बताएका थिए।
बैठकमा बोल्ने अधिकांशले नेताको वरिपरि घुम्नेहरूका कारण संगठन कमजोर बनेको तथा जनताको मन दुखाउने काम गरेकोले पार्टी यो अवस्थामा पुगेको बताएका थिए।
‘हाम्रा पनि कमी कमजोरी छन्। तिनलाई आत्मसमीक्षा गरेर जाऔं तर जिम्मेवार नेतृत्व सत्ताकेन्द्रित भयो जनताको चाहना सम्बोधन गर्न सकेन भन्ने थियो,' बैठकमा सहभागी एक सदस्यले भने।
‘तल देखि माथि सम्मको प्रवृत्ति संरचना र नेतृत्वको पुनर्गठन बिना पार्टी अगाडी बढ्नै नसक्ने कुरा जोडतोडले उठ्यो,नयाँका नाममा मात्रै होइन साँच्चै नै योग्य र ईमान्दार नयाँ पुस्ताले पार्टी हाँक्नु पर्ने आवाज उठेको छ,' ती सदस्यले भने।
मुख्य त एमाले सत्ताका लागि जो सँग पनि जस्तो अवस्थामा पनि गठबन्धन गर्ने कुराले जनता सँगको सम्बन्ध टुटेको निष्कर्ष बैठकको थियो। सत्ताकेन्द्रित हुँदा नेतृत्वले जनताका मुद्दामा ध्यान नदिएको बैठकको निष्कर्ष थियो। जुन जनताको भावना र जबजको मर्म विपरीत थियो भन्ने कुरा बैठकमा उठेको थियो।
फागुन २१ ले सिंगो कम्युनिस्ट आन्दोलनमाथि प्रहार गरेको र अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने कार्य प्रतिशोधपूर्ण भएको ठहर जिल्ला कमिटी बैठकले गरेको छ।
मंगलबार जिल्ला कमिटीभन्दा माथिल्लो कमिटीमा रहेका सदस्यहरूसहितको परामर्श बैठकमा १३ जना र बुधवारको जिल्ला कमिटी बैठकमा २६ जनाले धारणा राखेका थिए।
धारणा राख्ने सबैले पार्टीको तल्लोदेखि माथिसम्मका सबै कमिटीलाई अधिवेशन आयोजक कमिटी बनाउनु पर्ने र महाधिवेशन गरेर केन्द्रीय कमिटी ९९ जनाको तथा अन्य कमिटीहरू सो को अनुपातमा चुस्त बनाउनुपर्ने राय दिएका थिए।