इरानले अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य नरहने बताएको छ।
बुधबार लेबननमा भएको हमलामा साढे २ सय नागरिकको मृत्यु र ११ सय बढी घाइते भएका थिए।
इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले युद्धविराम घोषणा भएकै दिन यस्तो हमला हुनुले थप वार्ताको औचित्य नरहेको बताएका हुन्।
उनले सर्तविपरीत अमेरिकाले परमाणु कार्यक्रम त्याग्न दबाब दिएको पनि बताएका छन्।
'यस्तो परिस्थितीमा द्विपक्षीय युद्धविराम वा वार्ता अघि बढाउनु उचित हुँदैन,' उनको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
अमेरिका र इसराइल दुवैले युद्धविराममा लेबनन समावेश नभएको दाबी गरेका छन्।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बुधबार नै युद्धविरामप्रति समर्थन गर्ने तर त्यसमा लेबनन नपर्ने बताएका थिए। उनले लेबननमा हिजबुल्लाह लक्षित आक्रमण जारी रहने पनि घोषणा गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लेबनन युद्धविराममा नसमेटिएको बताएका छन्।
'लेबननमा भइरहेको अर्कै विषय हो। त्यो युद्धविराममा समावेश छैन,' उनले भनेका छन्।
उपराष्ट्रपति जेडी भान्सले बुधबार नै बुडापेस्टमा पत्रकारहरूसँगको कुराकानीमा युद्धविरामको दायरामा लेबनन नपर्ने बताए।
'इरानले सायद लेबनन पनि युद्धविराममा पर्छ भन्ने सोचेको हुन सक्छ, तर त्यस्तो होइन,' उनले भने।
राष्ट्रपति ट्रम्पले इरान युरेनियम समृद्धिकरण रोक्न सहमत भएको पनि दाबी गरेका छन्। 'अमेरिकाले इरानसँग मिलेर उसले गहिराइमा गाडेको परमाणु सामग्री निकालेर हटाउँछौं,' ट्रम्पले आफ्नो ट्रुथ सोसियल अकाउन्टमा लेखेका छन्।
सभामुख गालिबाफले भने इरानलाई युरेनियम समृद्धिकरण जारी राख्ने अनुमति रहेको दाबी गरेका छन्।
इरानले पठाएर ट्रम्पले सहमति जनाएको भनिएको १० बुँदे सर्तमा पनि युरेनियम समृद्धिबारे कुनै विषय उल्लेख छैन। यसले दुवै पक्षबीचको मूल विवाद अझै समाधान नभएको देखाउँछ।
लेबननमा हमलापछि इरानले हर्मुजमा अवरोध कायम राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विभिन्न कम्पनीका जहाजहरू युद्धविरामबारे प्रष्ट नभएकाले तत्काल जलमार्ग प्रयोग नगर्ने मनस्थितिमा छन्।
इसराइली प्रधानमन्त्री नेतन्याहूले इसराइल जुनसुकै बेला युद्धमा फर्किन तयार रहेको बताएका छन्।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले लेबननमा इसराइलको आक्रमणबारे कडा निन्दा गरेका छन्। उनले लेबनन पनि युद्धविराममा समेटिनुपर्ने बताएका छन्। बुधबार जापान, क्यानडा लगायत १३ देशले युद्धविरामको स्वागत गरी द्वन्द्वको पूर्ण समाधान माग गरेका थिए।
युद्धविरामका लागि मुख्य मध्यस्थकर्ताको भूमिका खेलेको पाकिस्तानले दुवै दीर्घकालीन शान्तिका लागि थप छलफल गर्न शुक्रबार इस्लामावादमा निम्तो दिएको छ। यद्यपि पछिल्लो घटनाक्रमहरूले संवाद अघि बढ्नेमा शंका उत्पन्न भएको छ।