राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको दुई शक्तिकेन्द्रका कारण उपसभामुख निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई झट्का लागेको छ।
रास्वपा सभापति रवि लामिछानेले समर्थन गर्ने प्रतिबद्धता जनाएपछि राप्रपाकी सांसद सरस्वती लामाले बिहीबार उपसभामुखमा उम्मेदवारी दिएकी थिइन्। लामिछानेले टेलिफोन गरेर उम्मेदवारी दर्ता गर्न भनेपछि नै आफूहरू गएको राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बताएका छन्।
उनका अनुसार लामिछानेले खसआर्य समुदायबाट सभामुख चयन भएकाले जनजातिबाट उपसभामुख भए राम्रो हुने बताएका थिए।
लामिछानेसँगको टेलिफोन संवादपछि दलको बैठक गरेर राप्रपाका सांसदहरू सिंहदरबारस्थित कानुन समितिको हलमा उपसभामुखका लागि उम्मेदवारी दर्ता गराउन पुगेका थिए।
यसरी राप्रपाले उम्मेदवारी दर्ता गरिरहेकै बेला रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटी, अशोक चौधरी र झविलाल डुम्रे श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरको साथ लागेर हलमा छिरे।
समर्थन गर्ने बाचा गरेका सभापति लामिछानेको प्रतिबद्धता विपरीत रास्वपा सांसदहरू श्रम संस्कृति पार्टीको समर्थक बस्न पुगेको देखेर राप्रपाका सांसदहरूलाई झट्का लागेको थियो।
उम्मेदवारी दर्तामा पुगेका रास्वपा सांसद राजन गौतमले नै 'रास्वपा सरप्राइज दिने पार्टी भएको' बताएका छन्।
हामीले यसबारे राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई सोध्दा उनले भने, 'उहाँहरूले राजनीति गर्नुभयो। यसमा आपत्ति छैन। सबै प्रतिपक्षी एक भएपछि हामीले उम्मेदवारी दर्ता गरेको हो। अब के हुन्छ भोलिको कुरा हो।'
रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले पनि सभापति लामिछानेले उम्मेदवारी दर्ताका विषयमा विभिन्न दलहरूसँग कुराकानी गरेको बताए।
'सबैसँग कुराकानी भइरहेको थियो, अन्तिम १० मिनेटमा मात्र हामी निर्णयमा पुग्यौं,' उनले भने।
श्रम संस्कृति पार्टीले उम्मेदवारीबारे निर्णय गर्न ढिलाइ गरेका कारण सभापति लामिछानेले राप्रपासँग कुरा गरेको हुनसक्ने बुर्लाकोटीको भनाइ छ। उनले युवा उम्मेदवार र मधेसले उपसभामुख पाउनु राम्रो ठानेर समर्थन गरेको बताए।
रास्वपा स्रोतका अनुसार उम्मेदवारी दर्ताका लागि आधा घन्टाको मात्र समय बाँकी रहँदा श्रम संस्कृति पार्टीका सांसदहरूलाई फोन गरेर रवि लामिछानेले 'हामीले राप्रपाका उम्मेदवारलाई समर्थन गर्ने भयौं' भनेका थिए।
तर यो कुरा रास्वपाकै संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई चित्त बुझेन। राप्रपालाई उपसभामुख दिन रवि सकारात्मक भए पनि बालेन शाह तयार नभएको स्रोत बताउँछ।
प्रधानमन्त्री शाहले सुरूदेखि नै पुराना दलहरूसँग सहकार्य गर्न इन्कार गर्दै आएका छन्। उनले राप्रपासँगको सहकार्य पनि रूचाएनन्।
सभापति लामिछानेले भने 'हर्क साम्पाङले सामाजिक सञ्जालबाटै विपक्षीको भूमिका खेलिरहेको र उपसभामुख नियुक्तिपछि पनि संवैधानिक परिषदमा असहयोग गर्न सक्ने भन्दै राप्रपालाई समर्थन गरेर जान उपयुक्त हुने' बताएका थिए।
त्यसैबीच प्रधानमन्त्री बालेनको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदलाई उम्मेदवारी दर्ता गर्न आग्रह गरेको स्रोत बताउँछ। बालेनको सचिवालयले उम्मेदवारी दर्ताका लागि अघि बढ्नू भनेर फोन गरेपछि श्रम संस्कृति पार्टीका सांसदहरू नै अलमलमा परेको स्रोतको भनाइ छ।
एकछिन अगाडि सभापति लामिछानेले 'हामीले राप्रपाका उम्मेदवारलाई समर्थन गर्ने भयौं' भन्नु र त्यसलगत्तै बालेनको सचिवालयबाट यस्तो सन्देश आउनुले आफूहरू दुबिधामा परेको श्रम संस्कृति स्रोत बताउँछ।
स्रोत अनुसार त्यसको केही समयपछि महामन्त्री बुर्लाकोटीले पनि फोन गरेर श्रम संस्कृति पार्टीलाई नै समर्थन गर्ने बताएका थिए। सभापतिले यसअघि राप्रपालाई समर्थन गर्ने भने पनि पार्टीका तर्फबाट श्रम संस्कृतिलाई नै समर्थन गर्ने निर्णय भएको बुर्लाकोटीले जानकारी गराएका थिए।
लामिछाने आफैले फोन गरेर दिएको समर्थन कार्यान्वयन गर्न असमर्थ भएपछि महामन्त्रीलाई फोन गर्न लगाएको स्रोतको भनाइ छ।
स्रोतका अनुसार सभापति लामिछाने नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई उपसभामुख दिन तयार थिएनन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लामिछानले स्पष्ट शब्दमा 'संवैधानिक परिषदमा आफूहरूको अनुकूलता नहुने भएकाले सहयोग गर्न नसकिने' बताएका थिए।
राष्ट्रियसभा अध्यक्ष नेकपा निकट नारायण दाहाल हुने र केही समयपछि एमाले र माओवादी मिलेर विपक्षी दलको नेता पनि प्रचण्ड हुने अवस्था उत्पन्न हुन सक्ने भएकाले उपसभामुख नेकपालाई दिन नसकिने लामिछानेको भनाइ रहेको स्रोत बताउँछ।
रास्वपाले उपसभामुखमा राप्रपालाई समर्थन गर्ने अवस्था देखेपछि नेकपाले श्रम संस्कृति पार्टीलाई उपसभामुखमा समर्थन गर्ने बताएको थियो।
नेकपाका नेता वर्षमान पुनले फोन गरेर श्रम संस्कृति पार्टीलाई उपसभामुखमा उम्मेदवारी दिन आग्रह गरेका थिए। बिहानभरि श्रम संस्कृति र नेकपाबीच छलफल भइरहेको थियो।
तर बालेन शाहले हस्तक्षेप गरेपछि अन्तत: रास्वपा पनि श्रम संस्कृतिलाई नै सहयोग गर्ने पक्षमा उभियो।
रास्वपाभित्र कुनै नियुक्तिलाई लिएर पार्टी सभापति र प्रधानमन्त्रीबीच राय बाझिएको यो दोस्रो पटक हो। यसअघि सरकार गठन बेला सभापति लामिछानेले डिपी अर्याललाई गृहमन्त्री बनाउन चाहेका थिए। तर प्रधानमन्त्री बालेन शाहको जोडबलमा सुदन गुरूङ गृहमन्त्री बने। अर्याल सभामुख भएका छन्।
रास्वपाले अन्तिम समयमा गरेको निर्णय श्रम संस्कृति पार्टीलाई पनि अनपेक्षित लागेको छ।
रास्वपाको समर्थनमा उपसभामुख उम्मेदवार बनेकी रूबीकुमारी ठाकुरले रास्वपाको निर्णय आफ्ना लागि 'सरप्राइज' भएको प्रतिक्रिया दिएकी छन्।
श्रम संस्कृति पार्टीका महामन्त्रीसमेत रहेका सांसद आरेन राईले रास्वपाले राप्रपा छाडेर श्रम संस्कृति पार्टीलाई समर्थन गरेकोबारे राखेको जिज्ञासामा हाँसो थाम्न सकेनन्।
'हा... हा..', राईले भने, 'खेल भएको होइन। देशका लागि काम गर्ने कुरा हो।'
***
यो पनि पढ्नुहोस्: