अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुँदैछ।
पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार दुई देशबीच वार्ता हुने निश्चित भएको अमिरिकी र पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
वार्ताका लागि दुवै पक्षका उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार नै इस्लामाबाद आइपुग्ने पाकिस्तानी अखबार द डनले उल्लेख गरेको छ।
बुधबार युद्धविराम भए पनि दुई देशबीच तनाव अझै कायमै छ।
इरानले हर्मुज खुला गर्ने र परमाणु कार्यक्रम रोक्ने सर्त मानेपछि युद्धविराम भएको वासिङ्टनको दाबी छ। तेहरानले भने परमाणु कार्यक्रमबारे कुनै पनि सहमति नभएको बताउँदै आएको छ।
सँगै युद्धविराममा लेबनन पनि समेटिनुपर्नेमा सोही दिन भीषण हमला गरेको थियो। यसमा पनि इरान रूष्ट छ।
अमेरिका-इसराइल र इरानबीच आक्रमण प्रत्याक्रमण नभए पनि एक अर्कामाथि भइरहेको आरोप-प्रत्यारोपले युद्धविराम नै खतरामा पुग्न सक्ने भएकाले वार्ताको आवश्यकता अझै बढेको अधिकारीहरू बताउँछन्।
वार्तामा अमेरिकाको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन्। वार्ता टोलीमा ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ज्वाँइ ज्यारेड कुश्नर पनि सहभागी हुने अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।
गत फेब्रुअरी महिनामा विटकोफ र कुश्नरले इरानी प्रतिनिधिमण्डलसँगै ओमान र स्वीट्जरल्याण्डमा वार्ता गरेका थिए।
वार्ता जारी रहेकै अवस्थामा अमेरिकाले इसराइलसँग मिलेर इरानमा हमला गरेको थियो। अघिल्लो वार्ता उपलब्धिमूलक नभएका कारण विटकोफ र कुश्नरलाई इरानीहरूले अविश्वास गर्न सक्ने डनले लेखेको छ।
इरानी वार्ता टोलीको नेतृत्व सभामुख मोहम्मद बाघेर गालिबाफले गर्नेछन्।
इरानको सर्वोच्च सुरक्षा परिषद्का सचिव अलि लरिजानी मारिएपछि गालिबाफ अहिले इरानको सबभन्दा शक्तिशाली अधिकारी रहेको मानिन्छ।
गालिबाफसँगै इरानी विदेशमन्त्री अब्बास अराग्ची पनि सहभागी हुनसक्ने डनले लेखेको छ।
वार्ताको मुख्य एजेन्डामा इरानको आणविक कार्यक्रम, ब्यालिस्टिक क्षेप्यास्त्र र हर्मुज जलमार्ग रहेको न्यूयोर्क टाइम्सले लेखेको छ।
हर्मुज बाहेकका अन्य विषय युद्ध सुरू हुनु भन्दा अगाडिदेखि नै वार्ताका विषय थिए।
युद्धविराम हुँदा इरानले अहिलेको युद्ध मात्रै नभएर खाडी क्षेत्रमा जारी सबै द्वन्द्वको अन्त्य, हर्मुजमा सुरक्षित आवतजावतका लागि एउटा मापदण्ड, प्रतिबन्धहरूको फुकुवा र पुनर्निर्माण लगायत १० बुँदामा अमेरिका सहमत भएको दाबी गरेको थियो।
युद्धविरामपश्चात भने अमेरिकाले इरानले भनेका कुनै पनि विषयहरूमा सम्झौता नभएको दाबी गरेको छ। उसले सम्झौताको विषय वार्तामा हुने भनेको छ। यसअघिकै १५ बुँदै प्रस्तावबारे इस्लामाबादमा कुरा हुने अमेरिकी अधिकारीहरूले बताएका छन्।