अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'स्ट्रेट अफ हर्मुज' मा शुल्क नउठाउन इरानलाई चेतावनी दिएका छन्।
बुधबार बिहानसम्म इरानले 'स्ट्रेट अफ हर्मुज' नखोले इरानी सभ्यता नै ध्वस्त पार्ने धम्की दिएका ट्रम्पले समयसीमा सकिन दुई घण्टा भन्दा कम बाँकी रहँदा दुई साताका लागि युद्धविराम घोषणा गरेका थिए।
हर्मुज खोल्ने शर्तमा सो युद्धविराम भएको दाबी ट्रम्पले गरेका थिए।
तर अझै पनि हर्मुज युद्ध अघिको जसरी खुलेको छैन। हर्मुज प्रयोग गरिरहेका सिमित जहाजसँग पनि इरानले शुल्क उठाइरहेको समाचार आएका छन्।
अमेरिकी र इरानी प्रतिनिधिमण्डलहरू स्थायी सम्झौताका लागि शनिबार पाकिस्तानमा वार्ता गर्ने कार्यक्रम छ। जसमा हर्मुज भएर हुने ढुवानी मुख्य विवादको विषय हुने छ।
यस्तो समयमा ट्रम्पले हर्मुजमा शुल्क नउठाउन इरानलाई चेतावनी दिएका हुन्।
'इरानले हर्मुज भएर जाने ट्याङ्करहरूसँग शुल्क लिइरहेको रिपोर्टहरू आएका छन् — उनीहरूले यसो नगरेकै राम्रो हुन्छ र यदि गरिरहेका छन् भने, अहिल्यै रोकेकै राम्रो!,' ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरेका छन्।
'इरानले हर्मुजबाट तेल जान दिने सन्दर्भमा धेरै खराब काम गरिरहेको छ, कतिपयले यसलाई अपमानजनक भन्न सक्छन्। यो हामीबीच भएको सम्झौता होइन!' ट्रम्पले जोड दिएका छन्।
इरानले आफै हर्मुज नखोले अमेरिकाले खुलाउने पनि उनले संकेत गरेका छन्।
'तपाईंले तेल प्रवाह सुरु भएको देख्नुहुनेछ, चाहे इरानको सहयोग होस् वा नहोस्। मेरा लागि यसले कुनै फरक पार्दैन,' ट्रम्पले भनेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)