युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको 'इलेक्ट्रोनिक युद्ध प्रणाली’ र ‘इन्टरसेप्टर’ ड्रोनले खाडी क्षेत्रमा इरानी ड्रोनहरू खसालेको दाबी गरेका छन्।
फाइनान्सियल टाइम्सका अनुसार मध्यपूर्वमा खटाइएको युक्रेनी सैन्य टोलीले अमेरिकी सैन्य पूर्वाधार रहेका कैयौं देशहरूमा इरानी शाहिद ड्रोनहरू खसालेका छन्।
जेलेन्स्कीले युद्धका क्रममा विनाश मच्चाइरहेका इरानका ड्रोनहरूलाई युक्रेनी हतियारले खसालेको भिडिओ फुटेज समेत आफूले हेरेको बताएका छन्।
‘जुन देशहरूले हाम्रा लागि आफ्नो वायु रक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) खुला गरे, हाम्रा विशेषज्ञहरूले ती प्रणालीलाई कसरी अझ बलियो बनाउने भन्नेबारे धेरै चाँडो सल्लाह दिन सफल भए,’ जेलेन्स्कीले भने।
युक्रेनसँगको युद्धमा रूसलाई सहयोग गर्न इरानले शाहिद ड्रोन दिएको थियो। पछि रूस आफैले ती ड्रोन उत्पादन गरेर युक्रेनमाथि प्रयोग गरिरहेको छ।
रूसको ड्रोन आक्रमण रोक्न युक्रेनले आफै रक्षात्मक ‘इन्टरसेप्टर’ ड्रोन बनाएको छ। ती ‘इन्टरसेप्टर’ ड्रोनले रूसी ड्रोनमा ठक्कर दिएर तिनलाई नष्ट पार्छन्।
इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामाथि गरेको ड्रोन आक्रमणबाट जोगाउन युक्रेनले ‘इन्टरसेप्टर’ ड्रोन सहित सैयौं सैन्य विज्ञ खटाएको छ।
५० हजार डलरभन्दा सस्ता इरानी ड्रोन खसाल्न अमेरिका अनि खाडी राष्ट्रहरूले शुरूमा १० औं लाख डलर पर्ने खर्चिला मिसाइल ‘इन्टरसेप्टर’ को प्रयोग गरेका थिए। मिसाइल आक्रमण रोक्न प्रयोग हुने सीमित र महंगा ‘इन्टरसेप्टर’ सस्ता ड्रोन खसाल्न प्रयोग गर्नु परेपछि अमेरिका र खाडी राष्ट्रहरूलाई अप्ठ्यारो परेको थियो। त्यसैले युक्रेनले इरानी ड्रोन खसाल्न सहयोग गरेको हो।
सहयोग गर्न गएका युक्रेनी विज्ञले इरानी ड्रोन खसालेको जेलेन्स्कीले दाबी गरेका हुन्। युक्रेनी प्रविधि जेट इन्जिनले चल्ने उच्च कोटिका ड्रोन पनि खसालेको उनले दाबी गरेका छन्।
‘हामीले जेट इन्जिन भएका ड्रोनहरू पनि खसालेका छौँ,’ उनले भने। यसलाई धेरै राम्रो संकेत भन्दै उनले अब युक्रेनले जेट इन्जिन भएका ड्रोनलाई नष्ट गर्ने इन्टरसेप्टरहरूको पनि ठूलो परिमाणमा उत्पादन सुरू गर्ने बताए।
युक्रेनी प्रविधिको सफलतापछि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारसँग युक्रेनले रक्षा सम्झौता समेत गरेको छ।
केही दिन अघि जेलेन्स्की मध्यपूर्व भ्रमण गएका बेला ती सम्झौता भएका हुन्।
ओमान, कुवेत र बहराइनसँग पनि रक्षा सम्झौताबारे छलफल भइरहेको जेलेन्स्कीले खुलासा गरे।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)