नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरेले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभई व्यवस्थित र अद्यावधिक गर्ने अभियान सुरू गरिएको बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्रीहरूले पछिल्लो समय ‘क्रियाशील सदस्यता खारेज हुँदैछ’ भन्ने भ्रम फैलिएको भन्दै त्यसलाई असत्य र भ्रामक प्रचारको संज्ञा दिएका छन्।
नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापति हैसियतमा विज्ञप्ति जारी गर्दै कुनै नेताको लहडमा सदस्यता खारेज हुन नसक्ने बताएका थिए।
त्यसपछि महामन्त्रीहरूले पार्टीले सदस्यता प्रणालीलाई सुदृढ, पारदर्शी र प्रभावकारी बनाउन अद्यावधिक प्रक्रिया अघि बढाएको बताएका छन्।
महामन्त्रीद्वयले यस अभियानले संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार नवीकरण प्रक्रियाले पार्टीभित्र अनुशासन, उत्तरदायित्व र एकता थप सुदृढ हुनेछ।
विगतका अनुभवबाट सिक्दै यसपटक सदस्यता व्यवस्थापनमा प्रविधिको प्रयोग र प्रक्रियागत सुधार गरिएको पनि उनीहरूले बताएका छन्।
महामन्त्रीद्वयले सम्पूर्ण क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता अद्यावधिक गर्न तथा नयाँ सदस्यहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
कांग्रेसले वैशाखभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने भनेको छ।
यो पनि:
ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले लहडमा खारेज गर्न सक्दैन- पूर्णबहादुर खड्का
कांग्रेस क्रियाशील सदस्य बन्न आफै वडामा जानुपर्ने, शपथ खानुपर्ने