अमेरिकी विशेष बलका एक सैनिकमाथि गोप्य सैन्य सूचनाको दुरुपयोग गरी अनलाइन सट्टेबाजीबाट करिब ४ लाख डलर कमाएको आरोपमा मुद्दा परेको छ।
ग्यानन केन भान डाइक नाम गरेका ती सैनिकमाथि गोप्य सूचना दुरूपयोग गरेको आरोपमा मुद्दा दायर गरिएको अमेरिकी अखबार वासिङ्टनपोस्टले जनाएको छ।
ग्यानन भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनकै घरबाट नियन्त्रणमा लिएर अमेरिका ल्याउने अमेरिकी सेनाको योजना र रणनीति कार्यान्वयनमा संलग्न थिए।
भेनेजुएलामा अपरेसन कुन मितिमा हुने, मदुरो सत्ता छाड्छन् कि पक्राउ पर्छन्? जनवरी अन्त्यसम्म अमेरिकी सेना भेनेजुएलामा प्रवेश गर्छ कि गर्दैन? लगायत विषयमा पोलिमार्केट लगायत भविष्यवाणी हुने विभिन्न अनलाइन प्ल्याटफर्महरूमा उनले बाजी लगाएका थिए।
पछि मदुरोलाई अमेरिकी सेनाले भेनेजुएलाबाटै नियन्त्रणमा लिएर न्यूयोर्क ल्याएपछि उनका सबै भविष्यवाणी मिलेको थियो। त्यसबाट उनले धेरै पैसा कमाएका थिए।
अमेरिकी संघीय अभियोजनकर्ताहरूले बिहीबार ग्यानन विरूद्ध ठगी, वायर फ्रड, चोरी तथा गोप्य सरकारी जानकारी व्यक्तिगत लाभका लागि प्रयोग गरेको आरोप लगाएका छन्।
अभियोजन पक्षका अनुसार, अमेरिकाले काराकासस्थित एक कम्पाउन्डमा अपरेशन सञ्चालन गरी मादुरोलाई नियन्त्रणमा लिँदा भान डाइकले अज्ञात रूपमा ठूलो रकम कमाएका थिए।
उनले झण्डै ३४ हजार डलर लगानी गरेर ४ लाख डलरभन्दा बढी नाफा कमाएको बताइएको छ।
मुद्दा न्यूयोर्कको दक्षिणी जिल्ला संघीय अदालतमा दायर गरिएको हो।
जिल्लाका अमेरिकी अधिवक्ता जे क्लेटनले 'प्रेडिक्सन मार्केट गोप्य वा वर्गीकृत जानकारीको दुरुपयोग गर्ने सुरक्षित स्थान होइन' भन्दै राष्ट्रिय सुरक्षासँग जोडिएको सूचनाको संरक्षण गर्नुपर्ने दायित्व स्मरण गराएका छन्।
यो मुद्दा अमेरिकी न्याय विभागले प्रेडिक्सन मार्केटमार्फत गरिएको ‘इनसाइडर ट्रेडिङ’ सम्बन्धी पहिलो आपराधिक कारबाही भएको बताइएको छ।
पछिल्ला महिनाहरूमा यस्ता प्लेटफर्महरूमा कडा नियमनको माग बढ्दै गएको छ। विशेषगरी सरकारी पदमा रहेका व्यक्तिहरूले गोप्य जानकारीको आधारमा बाजी लगाउन नपाउने व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको छ।
अभियोजनअनुसार, भान डाइकले नाफाको ठूलो हिस्सा विदेशी क्रिप्टो खातामा सारेर आफ्नो पहिचान लुकाउने प्रयास गरेका थिए। उनले मदुरोमाथिको कारबाहीपछि आफ्नो खाता मेटाउनसमेत अनुरोध गरेको आरोप छ।
कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले सैन्य सदस्यहरूलाई दिइने गोप्य जानकारी केवल जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने उल्लेख गर्दै त्यस्तो सूचनाबाट व्यक्तिगत आर्थिक लाभ लिनु कानुन विपरीत हुने स्पष्ट पारेका छन्।