संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आफूलाई प्रहरीले नियन्त्रणमा लिएको परिश्रमीले सेतोपाटीलाई जानकारी दिए।
‘मलाई प्रहरीले भर्खरै नियन्त्रणमा लिएको छ,’ उनले भने।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले कार्यवाहक अध्यक्ष परिश्रमीलाई प्रहरीले 'होल्ड' गरेको बताए।
‘उहाँलाई अहिलेलाई होल्ड गरिएको छ, तीन वर्षअघि त्यही क्षेत्रमा पेट्रोल बमलगायत प्रहार गरेको भन्ने विषयमा उहाँमाथि हामीले बुझ्दैछौं,’ उनले भने।
त्यसबेला काठमाडौं महानगर प्रहरी सुकुम्बासी बस्ती क्षेत्रमा जाँदा महानगर प्रहरीमाथि ढुंगामुडा भएको थियो।
उक्त घटनामा घाइते भएका महानगर प्रहरीहरूले सुकुम्बासी नेताहरूविरूद्ध प्रहरीमा उजुरीसमेत दिएका थिए।
प्रहरीले हिजो साँझ बागमती किनार आसपासमा माइकिङ गरेर सुकुम्बासी बस्तीका घरहरू खाली गर्न भनेको थियो।
आज सुकुम्बासीहरूले सरकारको निर्णयविरूद्ध प्रदर्शन पनि गरिरहेका छन्।