प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधानको विधि र प्रक्रिया ठाडै उल्लंघन गर्दै डोजर चलाएर र बल प्रयोग गरेर सुकुम्बासी बस्ती खाली गराउन खोजेपछि काठमाडौंमा विरोध प्रदर्शन सुरू भएको छ।
बालेनले मन्त्रिपरिषद र पार्टीमा छलफलबिना एकल निर्णयबाट सकभर शनिबार वा आइतबारभित्र काठमाडौंका सुकुम्बासी बस्ती खाली गराउन प्रहरी आइजिपीहरूलाई निर्देशन दिएका हुन्।
उक्त निर्देशन कार्यान्वयन गर्न प्रहरी कार्यालयहरूमा सर्कुलर भइसकेको छ। यसका लागि ठूलो संख्या प्रहरी परिचालन गर्ने तयारी छ।
सुधन गुरूङले गृहमन्त्रीबाट राजीनामा दिएर उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रधानमन्त्री बालेनले पहिलो निर्णयमै सुकुम्बासी बस्ती खाली गराउन अघि सरेका हुन्।
सरकारको यो कदमविरूद्ध अहिले काठमाडौंको थापाथली क्षेत्रस्थित सुकुम्बासी बस्ती आन्दोलित भएको छ। यहाँका सुकुम्बासीहरूले शुक्रबार बिहानैदेखि विरोध प्रदर्शन सुरू गरेका छन्। उनीहरूले प्ला कार्डमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रसमेत लिएर प्रदर्शन गरेका छन्।
‘पल्टाऊ वाचा पत्र अनि पढ लेखिएका कुराहरू कार्यान्वयन गर, सुकुम्बासी समस्या होइन सरकारको जिम्मेवारी हो, सुकुम्बासीलाई जग्गा र लालपूर्जा देऊ, वास्तविक सुकुम्बासी पहिचान गर, पुनर्वासबिना हटाउने निर्णय मान्य छैन' जस्ता माग र कुराहरू लेखेर सुकुम्बासीहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा जेनजी अभियानीहरू पनि सहभागी छन्। मोनिका निरौला, लक्ष्मी घिमिरे, अमित खनाल, अजय सोडारीलगायत जेनजी अभियानीहरू पनि सहभागी छन्।
सरकारले सुकुम्बासीलाई हटाउने तयारी गरेको छ। केही सुकुम्बासीहरूले सामान अन्यत्र सार्न पनि थालेका छन्।
सरकारले शनिबार र आइतबार बागमती किनार आसपासका सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेको छ। त्यसबारे बिहीबार साँझपख माइकिङ गरेर जानकारीसमेत दिइएको थियो।
साथै सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।