भारतलाई 'नर्क' टिप्पणी गरेको लेख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेपछि भारतले कडा आलोचना गरेको छ।
अमेरिकाको जन्मसिद्ध नागरिकताको विरोध गरिएको र भारत तथा चीनजस्ता देशका आप्रवासीहरूले यस प्रावधानको दुरुपयोग गरेको आरोप लगाइएको एउटा टक-शोलाई शब्दमा उतारेर ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरेका थिए।
'यहाँ एउटा बच्चा जन्मनासाथ नागरिक बन्छ, र त्यसपछि उनीहरूले चीन वा भारत वा पृथ्वीको अन्य कुनै नर्क जस्तै ठाउँ बाट आफ्नो पूरै परिवारलाई यहाँ भित्र्याउँछन्, सो टक-शोमा भनिएको थियो।
भारतले ट्रम्पको सो पोस्टको कडा आलोचना गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गरेर त्यसको आलोचना गरेका हुन्।
'यी टिप्पणीहरू स्पष्ट रूपमा अनभिज्ञ, अनुपयुक्त र भद्दा छन्। यसले पक्कै पनि लामो समयदेखि आपसी सम्मान र साझा हितमा आधारित भारत-अमेरिका सम्बन्धको यथार्थलाई प्रतिबिम्बित गर्दैन,' विज्ञप्तीमा भनिएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोको आगामी महिना हुने तय भएको भारत भ्रमणको पूर्वसन्ध्यामा ट्रम्पले यो उत्तेजक पोस्ट गरेका हुन्।
ट्रम्पको दोस्रो कार्यकालमा सामान्यतया मित्रवत रहेका यी दुई राष्ट्रहरूबीच बिग्रिएको सम्बन्ध सुधार्न रुबियोले प्रयास गरिरहेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)