सुकुम्बासी एवं भूमिहिन व्यवस्थापनबारे नेपाल प्रहरीले सहयोग गर्न अपिल गरेको छ।
शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि भएको उल्लेख गरेको छ।
‘यसको मुख्य उद्देश्य वास्तविक सुकुम्वासी/भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ। तर, दुःख लाग्दो कुरा, केही स्वार्थी तथा टाठाबाठा व्यक्तिहरूले तपाइँहरुको नाम र हक-अधिकारको दुरूपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेका छन्, जसको बारेमा तपाइहरू स्वयम् जानकार हुनुहुन्छ,’ प्रहरीले भनेको छ।
प्रहरीले त्यस्ता व्यक्तिहरूको कारणले वास्तविक सुकुम्बासी/भूमिहीनहरू अवसरबाट वञ्चित हुने तथा राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट टाढा रहनुपर्ने अवस्था आएको उल्लेख गरेको छ।
‘त्यस्ता व्यक्तिहरुको कारण वास्तविक सुकुम्वासी/भूमिहीनहरू अवसरबाट वञ्चित हुने तथा राज्यबाट प्राप्त हुने सेवासुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको छ। जसले गर्दा वास्तविक सुकुम्वासी/भूमिहीनहरु सधैं अन्यायमा परिरहनु भएको छ र यो समस्या जहिले पनि ज्यूँ का त्यूँ रहि आएको छ। त्यसैले, तपाइँहरु आफैं सजग भई आफ्नो हक मिच्ने त्यस्ता नक्कली सुकुम्वासी/भूमिहीन व्यक्तिहरूको पहिचान गर्नुहोस्,’ प्रहरीले भनेको छ।
