अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी डिसेम्बरमा अमेरिकाको मायामीमा हुने जी-२० शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई निम्तो दिने तयारी गरेका छन्।
ट्रम्पको डोरल गल्फ रिसोर्टमा हुने सो शिखर सम्मेलनमा निम्तो अझै पठाइनसके पनि उनले पुटिनलाई निम्तो दिन लागेको भनेर द वाशिङटन पोस्टले लेखेको छ।
अमेरिका सफल र फलदायी शिखर सम्मेलन आयोजना गर्न केन्द्रित भइरहँदा रूसलाई जी-२० का सबै बैठकहरूमा स्वागत छ भनेर ट्रम्पले स्पष्ट पारिसकेको भन्दै अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेको छ।
'अहिलेसम्म कुनै औपचारिक निमन्त्रणा जारी गरिएको छैन। तर रूस जी-२० को सदस्य हो र उसलाई मन्त्रिस्तरीय बैठकहरू र शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिनेछ,' भनेर एक वरिष्ठ अमेरिकी अधिकारीले बताएको पोस्टले थपेको छ।
जी-२० विश्वका १९ ठूला अर्थतन्त्रहरू, युरोपेली संघ र अफ्रिकी संघ सम्मिलित एक अन्तरसरकारी मञ्च हो। वार्षिक रूपमा आयोजना हुने यो शिखर सम्मेलनले विश्वका नेताहरूका लागि विश्वव्यापी मुद्दाहरूमा छलफल गर्ने अवसर जुटाउँछ।
रूसले सन् २०१९ देखि यो सम्मेलनमा भाग लिन कसैलाई पठाएको छैन।
सुरूमा कोरोना महामारी र सन् २०२२ मा युक्रेनमाथि गरेको आक्रमणका कारण पुटिन सहभागी भएका छैनन्। अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको छ। उनलाई युक्रेन युद्धका क्रममा युद्ध अपराध गरेको आरोप लगाइएको छ।
विशेष गरी अमेरिका लगायत पश्चिमा राष्ट्रले अन्तर्राष्ट्रिय रूपमा यसरी पुटिनलाई बहिस्कार गरेपनि ट्रम्पले उनीसँग गत वर्ष अमेरिकाको अलास्कामा युक्रेन युद्ध अन्त्य गर्न वार्ता गरेका थिए।
दक्षिण अफ्रिकामा श्वेत (गोरो छाला भएका) हरू विरूद्ध गम्भीर मानवअधिकार उल्लंघनका घटना नरोकिएको गलत आरोप लगाउँदै ट्रम्पले गत वर्ष दक्षिण अफ्रिकामा भएको जी-२० शिखर सम्मेलन बहिस्कार गरेका थिए।
यो वर्ष अमेरिकामा हुने शिखर सम्मेलनमा भने युक्रेनमा साँच्चै गम्भीर मानवअधिकार उल्लंघन र युद्ध अपराध गरेको मुद्दा खेपेका पुटिनलाई उनले निम्तो दिन लागेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)