नेपाली कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित भएको छ।
निर्वाचन समितिकी सदस्य मुना भुसालले अहिलेका लागि संसदीय दल नेता चयनसम्बन्धी प्रक्रिया स्थगित गरिएको बताइन्।
संसदीय दल नेता निर्वाचनका लागि कार्यतालिका प्रकाशन गरिएको थियो।
अपराह्न ३ बजेदेखि मनोनयन दर्ताको कार्यक्रम थियो।
तर केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन प्रक्रिया स्थगन गर्न आग्रह गरेको थियो।
‘हाललाई संसदीय दल नेता निर्वाचन प्रक्रिया स्थगित गरिएको छ, उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा एक समिति बनेको छ, उक्त समितिले छलफल गरी सहमतिमै संसदीय दल नेता चयनका लागि प्रयास गर्ने कुरा भएको छ,’ उनले भनिन्।
उपसभापति शर्मा, पुष्पा भुसाल र महामन्त्रीहरू गुरूराज घिमिरे र प्रदीप पौडेलसहित निर्वाचन समिति पनि रहने गरी एक समिति बनाइएको निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले पत्रकारहरूलाई बताए। ‘भोलिसम्म संसदीय दल नेता सहमतिमै चयन गर्ने तयारी छ,’ उनले भने।
कांग्रेसमा ३८ जना सांसद छन्।
पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, नेता मोहन आचार्य संसदीय दल नेताका दाबेदार छन्।
सहमति नहुँदा कांग्रेसले संसदीय दल नेता चयनमा ढिलाइ गर्दै गइरहेको छ।