थापाथली सुकुम्बासी बस्तीबाट दशरथ रंगशालास्थित 'होल्डिङ सेन्टर' जानेमा अर्को एउटा परिवार थपिएको छ।
भोजपुरका डम्बरबहादुर तामाङको परिवार आफूहरूसँग बस्ती छाडेर अन्यत्र जाने विकल्प नभएको भन्दै महानगरको सम्पर्कमा आएका हुन्।
दृष्टिविहीन डम्बरबहादुरको परिवारमा दुई जना केटाकेटी सहित चार जना सदस्य छन्।
उनले आफ्नो घरको जस्ता बेचेर आएको चार हजार रूपैयाँबाहेक थप एक पैसा नभएको बताएका छन्।
काठमाडौं महानगरपालिकाले उनीहरूलाई रंगशालाको होल्डिङ सेन्टर लगेर राख्नेछ। त्यसपछि व्यवस्थापनका लागि अन्यत्र सारिनेछ।
यसअघि रौतहट घर भएकी मनीषा यादव र उनका ५ र ३ वर्षका बच्चालाई रंगशाला लगेर राखिएको नगर प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए।
सुकुम्बासीहरू बस्ती छाडेर हिँडन थालेपछि डोजर, एक्स्काभेटर परिचालन गरी यहाँका झुपडी र भौतिक संरचना भत्काउन थालिएको छ। अहिलेसम्म करिब ७० प्रतिशत संरचना भत्काइसकेको महानगर नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले बताएका छन्।