राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विश्वराज पोखरेल विवादमा तानिएका छन्।
ओखलढुंगाबाट निर्वाचित पोखरेलले एक प्रधानाध्यापकलाई स्वागत गर्न नआएको भन्दै गाली गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।
यसरी भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि पूर्वएआइजी समेत रहेका पोखरेलको चर्को आलोचना भइरहेको छ।
‘तपाईं कर्मचारी हो। म रिटायर्ड विशिष्ट श्रेणीको कर्मचारी हुँ। म माननीय नभएको भए पनि तपाईंले रेस्पेक्टका लागि; भोलि तपाईं रिटायर्ड हुनुहुन्न? तपाईंले त्यस्तो गर्ने? एउटा जिल्लाको माननीय आउँदा हेड मास्टर भित्र चुप लागेर बस्ने? तपाईंले जे गर्दा पनि हुन्छ? त्यस्तो कुरा नगर्नुस्,’ उनले भनेका थिए।
यसरी थर्काएको भिडिओ बाहिरिएपछि रास्वपाका सांसद गणेश कार्कीले नै विश्वराजको आलोचना गरेका छन्।
‘म माननीय भनेको राम्रो सुनिन्छ र? सुनिँदैन त। आवश्यक नै भयो भने म सांसद भन्दा भयो बरू। यही सांसद पद पनि बढीमा ५ वर्ष हो। के बानी पार्नु? अनि 'हजुर एक भोट दिनुस् न' भन्दै हजारौं नमस्ते गरेको २ महिना नि भा छैन, के बिर्सिनु! भुइँ नछोडौँ न है,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
स्वतन्त्र सांसद महावीर पुनले भने विश्वराजलाई बर्खास्त नै गर्नुपर्ने बताएका छन्।
‘यिनी कुन पार्टीका हुन् कुन्नी? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ। सासंद भनेको जनताको नोकर हो। एउटा सासंदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नुपर्छ,’ उनले लेखेका छन्।
पुनले पोखरेलले माफी माग्नुपर्ने बताएका छन्।
‘५ वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ। बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ? कि तुरुन्त माफी माग्नु पऱ्यो कि त सारा जनताले फिर्ता बोलाउनु पऱ्यो। सासंद पदको बेइज्जत नै गऱ्यो त,’ उनले लेखेका छन्।
पोखरेलको सचिवालयले यस विषयमा प्रस्टीकरण समेत दिएको छ।
उनको सचिवालयले खिजिदेम्बा गाउँपालिकाको रगनीस्थित एक विद्यालयको भएको र त्यसको वास्तविकता पूर्ण रूपमा प्रष्ट नपारी भ्रम सिर्जना भएको बताएको छ।
सचिवालयले उक्त विद्यालयमा जाँदा प्रधानाध्यापक कार्यालय भित्र रहेको र बाहिर कुराएको पनि जनाएको छ।
‘माननीयज्यू जिल्लाको जनप्रतिनिधिको हैसियतले स्थानीय स्तरका कार्यालय तथा संस्थाहरूको वास्तविक अवस्था, त्यहाँ रहेका चुनौती, कठिनाइ र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले सो विद्यालयमा पुग्नुभएको थियो। त्यसबेला विद्यालयका प्रधानाध्यापक कार्यालयभित्रै हुनुहुन्थ्यो। कार्यालय सहयोगीमार्फत माननीयज्यूलाई कुर्सी दिएर केही समय बाहिर कुर्न अनुरोध गरिएको थियो,’ सचिवालयले भनेको छ।
प्रधानाध्यापक लामो समयसम्म नआएको र पछि मात्रै निस्किएको पनि उल्लेख छ।
‘माननीयज्यूले धैर्यतापूर्वक केही समय प्रतीक्षा गर्नुभयो। तर लामो समयसम्म पनि प्रधानाध्यापक उपस्थित नभएपछि पुनः बोलाउन पठाइएको थियो। त्यसपछि पनि निक्कैबेर नआएपछि माननीयज्यू विद्यालय परिसरबाट बाहिर निस्कनु भएको थियो,’ सचिवालयले भनेको छ, ‘पछि प्रधानाध्यापकज्यू हतारिँदै बाहिर आएर आफ्नो गल्ती स्वीकार गर्दै माननीयज्यूसँग माफी माग्नुभयो। त्यसपछि सबैजना पुनः भित्र गई आपसी सम्मान र सौहार्दपूर्ण वातावरणमा आवश्यक छलफल तथा संवाद सम्पन्न भएको थियो।’