इरानका विदेशमन्त्री अब्बास अराग्ची पाकिस्तान पुगेका छन्।
अमेरिकासँग सम्भावित दोस्रो चरणको वार्ताका लागि इरानी विदेशमन्त्री अराग्ची शुक्रबार राति इस्लामावाद पुगेका हुन्।
शुक्रबार नै उनले पाकिस्तानी समकक्षी इशाक डारसँग भेटवार्ता गरेका छन्।
अराग्ची इस्लामावाद पुगेपछि अमरिकी टोली पनि आउँदै छ।
शनिबार बेलुकीसम्म अमेरिकी टोली इस्लामावाद आइपुग्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
अमेरिकी टोलीमा यसपालि मध्यपूर्व दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर छन्।
उपराष्ट्रपति जेडी भान्स भने आएका छैनन्। ट्रम्पले यसअघि भान्स नै वार्ताका लागि जाने बताएका थिए। भान्स नजाने भनेपछि प्रत्यक्ष वार्ता नहुन सक्ने बताइएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमार्फत अमेरिकी प्रतिनिधिसँग प्रत्यक्ष भेट्ने योजना नरहेको स्पष्ट पारेका छन्।
इरानले आफ्ना चासोहरू पाकिस्तानमार्फत राख्ने जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले अमेरिकाका माग सम्बोधन गर्ने प्रस्ताव ल्याउने अपेक्षा व्यक्त गरेका छन्।
'इरानले अमेरिकाका माग पूरा गर्ने खालको प्रस्ताव ल्याउने योजना बनाएको छ, तर त्यो के हो भन्ने अझ स्पष्ट छैन,' उनले भनेका छन्।
ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले पछिल्ला दिनहरूमा इरानतर्फबाट केही प्रगति देखिएको भन्दै सप्ताहन्तमा थप सकारात्मक संकेत आउने आशा व्यक्त गरिन्।
आवश्यक परे उपराष्ट्रपति जेडी भान्स पनि पाकिस्तान जान तयार रहेको उनले बताएकी छन्।
अमेरिका र इरानबीच तनाव चुलिँदा रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा अवरोध सिर्जना भएको छ। इरानले हर्मुजमा नियन्त्रण कडाइ गरेपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित भएको छ भने अमेरिकाले इरानी तेल निर्यात रोकेको छ। यसले अन्तर्राष्ट्रिय बजारमा तेल मूल्य अस्थिर बनेको छ।
दुवै देशबीचको द्वन्द्व अहिले महँगो गतिरोधमा पुगेको छ। ट्रम्प प्रशासनले दुई साता युद्धविराम थप्दै वार्ताका लागि समय दिएको छ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँग 'राम्रो सम्झौता गर्ने अवसर अझै खुला रहेको' बताएका छन्। उनले इरानले प्रमाणित रूपमा परमाणु हतियार कार्यक्रम त्यागेमा समाधान सम्भव हुने धारणा राखे।
यसअघि इस्लामावादमै भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेको थियो। त्यसयता कूटनीतिक प्रयास जारी रहे पनि प्रत्यक्ष संवादको अनिश्चितताले शान्ति प्रक्रियामा अन्योल कायम छ।