चुनाव सकिएको डेढ महिना बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दल नेता चयन गर्न सकेको छैन।
फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन भएको थियो। तर कांग्रेसले आज पनि संसदीय दल नेता चयन गर्न छलफल गरिरहेको छ।
कांग्रेसमा जम्मा ३८ जना सांसद छन्।
कांग्रेस प्रमुख प्रतिपक्षी दल हो। संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दल नेता पनि सदस्य रहन्छन्। कांग्रेसले संसदीय दल नेता चयन नगर्दा संवैधानिक परिषद पूर्णता पाउन सकेको छैन।
कांग्रेसले विभिन्न कारण संसदीय दल नेता चयन गर्न ढिलाइ गर्दै आएको देखिन्छ।
फागुन २१ को निर्वाचनअघि कांग्रेसले विशेष महाधिवेशन गरेको थियो। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो।
प्रतिनिधि सभा चुनावको समानुपातिकमा तत्कालीन सभापति शेरबहादुर देउवा र प्रत्यक्षतर्फ विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाले उम्मेदवारलाई टिकट दिएका थिए।
विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएको थिएन। विशेष महाधिवेशनविरूद्ध देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत गए पनि रिट खारेज भएको थियो।
त्यसपछि सभापति गगन थापाले नेता खड्कालाई उनकै निवास गोल्फुटार पुगेर भेटवार्तासमेत गरेका थिए। खड्का पक्षले वैशाख १५ गते भेलाको तयारी पनि गरेको छ।
कांग्रेसभित्र विशेष महाधिवेशन गर्नुपर्ने र गर्न नहुनेबाट विवाद सुरू भएको थियो। अदालतले यो विवाद निरूपण गरे पनि राजनीतिक रूपमा कांग्रेस नेताहरूको मन मिलिसकेको देखिँदैन।
संसदीय दलसम्बन्धी विधान अनुमोदन भइसकेको अवस्थामा पनि कांग्रेसले दल नेता चयन गर्न सकेको छैन।
गत शुक्रबार निर्वाचन गर्ने गरी तालिका आएर काम अघि बढे पनि केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमतिमै दल नेता चयन प्रयास गर्ने भन्दै चुनावी कार्यक्रम स्थगन गरेर एक कार्यदल बनाएको थियो।
उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेल तथा निर्वाचन समितिका संयोजकसहित रहेको कार्यदलले संसदीय दल नेताका आकांक्षीहरूसँग सहमतिमै दल नेता चयन गर्न छलफल गरिरहेका छन् तर आजसम्म टुंगिएको छैन।
संसदीय दल नेताका लागि सांसदहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, योगेश गौचन थकाली, बासना थापा, निश्कल राईलगायत आकांक्षी छन्। मुख्य गरी केसी, आङ्देम्बे र आचार्यबीच संसदीय दल नेतामा 'लडाइँ' छ।
सभापति गगन थापाले सहमतिमै संसदीय दल नेता चयन गर्न सके राम्रो हुने बताएको नेताहरूको भनाइ छ।
साथै उपसभापति विश्वप्रकाश शर्माले सांसद आङ्देम्बेलाई अघि बढाउँदा उपयुक्त हुने र पार्टीभित्र पनि राम्रो सन्देश जाने बताएको नेताहरू बताउँछन्। आङ्देम्बे १४ औं महाधिवेशनमा देउवा प्यानलबाट सहमहामन्त्री जितेका थिए।
आङ्देम्बेले अहिले आफूहरू गगन थापा नेतृत्वमा रहेको र कुनै पनि पक्षमा आफू नरहेको बताएका थिए।
संसदीय दल नेता सहमतिमा चयन गर्न बनेको कार्यदलका एक सदस्य महामन्त्री गुरूराज घिमिरेले सहमतिमै दल नेता चयन गर्न सकिन्छ कि भनेर छलफल भइरहेको बताए।
‘आज बेलुकीसम्म हामी छलफल गर्छौं, सहमतिमै संसदीय दल नेता चयनको प्रयास भइरहेको छ, छलफल जारी छ,’ उनले भने, ‘सहमति नभए निर्वाचनबाट चयन गरिन्छ। भोलिसम्म संसदीय दल नेता चयन गरिसक्छौं।’