नेपाली कांग्रेसले संसदीय दल नेतामा सहमति जुटाएको छ।
उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेतामा सहमति जुटाएको हो।
आज बिहान ११ बजे सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समितिले सभापति थापालाई आफूहरूले जुटाएको सहमति अनुसारको नाम दिनेछ।
उक्त नाम सभापति थापाले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रस्तावका रूपमा पेस गर्नेछन्। सभापति थापाले नाम प्रस्ताव नगरून्जेल सहमति जुटिसकेको उक्त नाम सार्वजनिक नगरिने एक पदाधिकारीले जानकारी दिए।
संसदीय दल नेता केन्द्रीय कार्यसम्पादन समितिले चयन गर्न सक्दैन। यहाँ सर्वसहमति भएको विषय राख्ने मात्र हो।
संसदीय दल नेता सांसदहरूले चयन गर्ने हो। त्यसका लागि पार्टीले जुटाएको सहमति अनुसारको नाममा दिउँसो १ बजे सांसदहरू बीचमा छलफल हुनेछ।
निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार सभापति थापाले कार्यसम्पादन समिति बैठकमा संसदीय दल नेताका लागि नाम प्रस्ताव गर्ने र दिउँसो १ बजे सांसदहरूबीच छलफल गरी नेता चयन गरिनेछ।
‘सभापतिले सहमतिको नाम प्रस्ताव गर्नुहुन्छ, सांसदहरू सहमत हुनुभयो भने भइहाल्यो, भएन भने चुनाव हुन्छ,’ उनले भने।
एक पदाधिकारीले सेतोपाटीसँग बताएअनुसार सहमति जुटाउन बनेको उपसभापतिद्वय र महामन्त्रीद्वयको समितिले संसदीय दल नेताका आकांक्षी र सांसदहरूसँग पटक पटक छलफल गरी संसदीय दल नेतामा सहमति जुटाएको हो।
उक्त समितिले पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीलाई निवासमै गएर भेटेको थियो भने पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेता मोहन आचार्यसँग सानेपा क्षेत्रमा भेटेर कुराकानी गरेको थियो।
साथै समितिले अरू सांसदहरूको मत पनि बुझेको थियो।
‘मत विभाजन हुने खण्डमा सांसदहरूको मनस्थिति के रहेछ भनेर समितिले बुझेको थियो,’ एक पदाधिकारीले भने, ‘सबैको रायअनुसार सहमतिको नाम चयन भएको छ। आजै संसदीय दल नेता चयन हुन्छ।’
पूर्वसहमहामन्त्री केसी संसदीय दल नेता नहुने भएका छन्। उनले सर्वसहमति जुटे हुने नत्र चुनाव नलड्ने बताएका थिए।
पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बे, मोहन आचार्य, बासना थापा र फिरदोष आलममध्ये एक जनालाई संसदीय दल नेता बनाउनेबारे छलफल पनि भएको थियो।
‘यी नामहरू मध्येबाटै एक जनाको नाम सहमति भएको छ, सभापतिले कार्यसम्पादन समितिमा नाम प्रस्ताव गरेपछि उक्त नाम सार्वजनिक भइहाल्छ,’ ती पदाधिकारीले भने।
कांग्रेसमा ३८ जना सांसद छन्।
संसदीय दल नेता चयनमा ढिलाइ भएको भन्दै नेता पूर्णबहादुर खड्कालगायतले असन्तुष्टि जनाइरहेका थिए।