इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्।
आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्। विमानस्थलमा रूसी अधिकारीहरूले उनको स्वागत गरेको भिडिओ पनि इरानी मिडियाहरूले सार्वजनिक गरेका छन्।
विदेशमन्त्री अराग्चीले मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन्। इरानी राजदूत काजेम जलालीले पुटिनसँगको भेट निश्चित भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन्। भेटमा युद्धका पछिल्ला घटनाक्रम र द्वीपक्षीय सहकार्यबारे छलफल हुने जलालीले बताएका छन्।
सेन्ट पिटर्सबर्गमा ओर्लिएपछि अराग्चीले आफ्नो भ्रमण उद्धेश्यबारे इरानी सञ्चारमाध्यमहरूसँग कुरकानी गरेका छन्। उनले तेहरान मस्कोबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा नजिकको समन्वयलाई निरन्तरता दिन रूस आएको भनेर इरानी सञ्चारमाध्यमहरूलाई उद्धृत गरेर कतारी मिडिया अल जजिराले लेखेको छ।
विदेशमन्त्री अराग्ची इस्लामाबादबाटै रूस गएका हुन्।
उनी गत शुक्रबार इस्लामावाद आएका थिए। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफलगायत उच्च अधिकारीहरूसँग छलफल गरेर शनिबार त्यहीँबाट ओमान गएका थिए।
मस्कटमा ओमानी सुल्तान हैथम बिन तारिक सँग भेट गर्दै उनले क्षेत्रीय अवस्थाबारे छलफल गरेका थिए। आइतबार ओमानबाट पुनः इस्लामावाद फर्किएका उनी त्यहीँबाट रूस गएका हुन्।
मस्कटको भेटवार्तमा अराग्चीले अमेरिकाको सैन्य उपस्थितिले क्षेत्रीय असुरक्षा बढाएको आरोप लगाउँदै स्वतन्त्र क्षेत्रीय सुरक्षा संयन्त्र आवश्यक रहेको बताएका थिए।
अमेरिकी सैन्य उपस्थितिले केवल असुरक्षा र विभाजन निम्त्याएको कुरा उनले सुल्तान हेैथमसँग राखेका थिए।
ओमानका सुल्तानले भने युद्ध चाँडो अन्त्य होस् भन्ने अपेक्षा व्यक्त गर्दै क्षेत्रीय स्थायित्वका लागि कूटनीतिक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका थिए भनेर इरानी समाचार संस्था तस्निमले लेखेको छ।
पाकिस्तानमा रहँदा विदेशमन्त्री अराग्चीले अमेरिकासँग वार्तामा बस्नका लागि तेहरानका सर्तहरू राखेका थिए। त्यसमा उनले सकारात्मक प्रगती भएको भनेका छन्।
अराग्ची शुक्रबार पाकिस्तान गएपछि अमेरिकी वार्ता टोली पनि आउने तयारीमा थियो। तर इरानले अमेरिकासँग प्रत्यक्ष वार्तामा नबस्ने भनेपछि राष्ट्रपति ट्रम्पले त्यसअघिका वार्ताटोलीका 'कमान्डर' उपराष्ट्रपति जेडी भान्सलाई पठाएनन्। अन्तिम समयमा स्टिभ विटकोफ र ज्यारेड कुश्नरको भ्रमण पनि रोके।
ट्रम्पले वार्तामा बस्ने भए फोन गर्नू भनेर इरानलाई ट्रुथ सोसियलमार्फत आग्रह गरेका पनि थिए।
इरानी राष्ट्रपति मशुद पेजिस्कियनले भने स्ट्रेट अफ हर्मुजमा अमेरिकाले नाकाबन्दी नहटाएसम्म वार्ता सुरू हुन नसक्ने बताएका छन्। १४ दिनका लागि भनेर युद्धविराम ट्रम्पले अब वार्ता निष्कर्षमा नपुगुन्जेलका लागि भनेर लम्ब्याएका छन्।
इरानी विदेशमन्त्री इस्लामावादमै हुँदा पाकिस्तानमार्फत तेहरानका सर्तहरू प्राप्त भएको ट्रम्पले बताएका छन्।
यहीबीच उनी सोमबार मस्को पुगेका हुन्।
अमेरिका र इसराइलसँग युद्धका क्रममा मस्कोले तेहरानलाई कूटनीतिक रूपमा समर्थन गर्दै आएको छ।
रुसी विदेशमन्त्री सेर्गेइ लावरोभले त पाकिस्तानमार्फत भइरहेको मध्यस्थता प्रयासको प्रशंसा गर्दै रूस पनि समाधानमा भूमिका खेल्न तयार रहेको बताएका छन्।
केही रिपोर्टहरूमा रूसले इरानलाई अमेरिकी सैन्य गतिविधिसम्बन्धी खुफिया सूचना उपलब्ध गराएको दाबी पनि गरेको छ।
यसअघि रूसले अमेरिका समक्ष प्रस्ताव राख्दै यदि वाशिङ्टनले युक्रेनलाई दिँदै आएको खुफिया सहयोग रोकेको खण्डमा आफूले पनि इरानलाई त्यस्तो सहयोग नदिने संकेत गरेको थियो। तर डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी पक्षले उक्त प्रस्ताव अस्वीकार गरेको जनाइएको छ।