नारायणदत्त पौडेललाई सशस्त्र प्रहरीको आइजिपीमा बढुवा गर्ने सरकारले निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई आइजिपीमा बढुवा तथा नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
‘सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय भएको छ,’ उनले भने।
पौडेल सशस्त्रको १३ औं आइजिपी भएका हुन्। अहिलेका आइजिपी राजु अर्याल वैशाख १८ मा अवकाशमा जाने भएकोले नयाँ आइजिपी नियुक्त गरिएको हो।
साथै आजको मन्त्रिपरिषद बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गरी राजपत्रमा सूचना निकाल्ने निर्णय पनि भएको छ।
भन्सार नियमावली स्वीकृत गर्ने निर्णय पनि भएको उनले बताए।